लामाचौर कप भलिबल: पुरुषतर्फ पुलिस र महिलातर्फ डायमण्ड शीर्षस्थानमा

पोखरामा राष्ट्रिय भलिवल जारी, महिलातर्फ न्यू डाइमण्डको २ जित

जनसम्मत
भाद्र ३१, २०८०, आइतबार

पोखराको लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुषतर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन्।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको संपूर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भव नहुँदा फाइनल तथा लिगका अन्य खेल भोली (सोमबार) हुनेछ।

महिलातर्फ लिग चरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम खेलमा एपीएफ र पुलिस बिचको खेल प्रकाशका कारण हुन नसक्दा खेल स्थगित हुन पुगेको हो।

अन्तिम खेलमा पुलिसले लगातार २ सेट जित हासिल गर्दै अन्तिम जितको खोजिमा हुँदा एपीएफ खेलमा फर्कदै लगातार २ सेट आफ्नो पक्षमा पार्न सफल भएको थियो।

खेलको अन्तिम सेट चलिरहँदा साँझ भएपछि प्रकाश नपुग्ने भन्दै अफिसियलले खेल सोमबार खेलाउने निर्णय गरेको हो।

पुलिसले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले जितेपनि तेस्रो सेट १९–२५ र चौथो सेट १६–२५ ले गुमाउन पुग्यो।

अन्तिम सेटमा एपीएफले अग्रता लिएको थियो।

७–५ को स्थितिमा खेल चलिरहँदा खेलमा प्रकाश नपुग्ने भएपछि खेल स्थगित भएको हो।

उक्त खेल पुन: खेलाइने छ।

स्थगित खेल पोखरा रंगशालमा खेलाइने भएको आयोजकले जनाएको छ।

त्यसैगरी, महिलातर्फ, आइतबार भएको पहिलो खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–२ को सेटमा पाखा लगायो।

डायमण्डले २५–१८ ले जितेपनि दोस्रो सेट २०–२५ र तेस्रो सेट १४–२५ ले गुमाउन पुग्यो।

चौथो सेटमा २५–२१ जित हात पारेपनि अन्तिम सेटमा १२–१५ को हार व्यहोर्दै कुल ३ खेलबाट ६ अंक बटुलेको छ।

यस्तै, एपीएफले त्यो भन्दाअघि एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हराउँदै ३ अंक जोड्यो।

एपीएफले २५–१६, २५–१४ र २५–१७ को सहज जित निकालेको थियो। ३ खेलबाट एपीएफको ४ अंक रह्यो।

एभरेष्ट भने ३ खेलमा जितविहीन बन्दै शून्य अंकमा छ।

यस्तै, आइतबार नै पुरुषतर्फ भएको खेलमा पुलिसले गलकोटलाई सोझो सेटमा हरायो।

पुलिसले २५–१८, २५–२१ र २५–१४ को सहज जित निकाल्यो।

अर्को खेलमा गण्डकी प्रदेशले एपीएफलाई ३–१ को सेटमा हराएको छ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा लय समात्दै जित हासिल गरेको हो।

गण्डकीले २५–२३, २५–२३ र २५–१९ को जित निकालेको हो।

प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपीएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलको सहभागिता छ।

त्यसैगरी, पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपीएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरी ५ टिमको सहभागिता छ।