दुर्गा प्रसाइँ, भारतमा यसरी पक्राउ परेका थिए

स्रोतका अनुसार प्रसाइँलाई आसामस्थित अभिचन्द्र पाठकको घरबाट पक्राउ गरिएको हो

जनसम्मत
चैत्र २९, २०८१, शुक्रबार

काठमाण्डौं, तीनकुनेको हिंसात्मक घटनापछि फरार रहेका राजावादी अभियन्ता दुर्गा प्रसाइँलाई प्रहरीले झापाको भद्रपुर नाकाबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीले प्रसाइँलाई नेपाल–भारतको सीमा नाकाबाट पक्राउ गरेको जनाएपनि यसअघि, भारतीय प्रहरीले प्रसाइँलाई आसामबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रसाइँलाई भारतको आसाम राज्यस्थित धनसिरीपुर ठाडालाइन क्षेत्रबाट बिहीबार पक्राउ गरिएको हो।

प्रसाइँलाई भारतको आसामस्थित एक नेपाली भाषीको घरमा लुकेर बस्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रसाइँलाई आसामस्थित अभिचन्द्र पाठकको घरबाट पक्राउ गरिएको स्रोतले जनाएको छ।

आसाम पुगेको नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीका अनुसार उनी पाठकको घरमा लुकेर बसेका थिए।

पाठक नेपालीभाषी हुन्।

उनलाई ल्याउन नेपालबाट प्रहरीको विशेष ब्यूरोको टोली आसाम पुगेको थियो।

भारतको आन्तरिक सुरक्षा र प्रतिजासूसी संस्था इन्टेलिजेन्स ब्यूरो (आइबी) को सहयोगमा प्रसाइँ लुकेको ठाउँ पहिचान गरिएको थियो।

त्यसपछि, आसामको स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले भने शुक्रबार मात्र झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ।

यसअघि, पनि भारतमा पक्राउ गरेका व्यक्तिलाई भारतीय सुरक्षा निकायले नेपाललाई नबुझाउँदासम्म नेपाल प्रहरीले पक्राउ परेको स्वीकार्ने गरेको छैन।

भारतीय प्रहरीको समन्वयमा प्रसाइँलाई विहीबार नै नियन्त्रणमा लिइएको थियो।

यो खबर सार्वजनिक भएसँगै नेपाल प्रहरीले भने मध्यराति प्रेस विज्ञप्ति जारी गरी प्रसाइँ पक्राउ नपरेको दाबी गरेको थियो।

शुक्रबार बिहान झापा ल्याएपछि भने प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआइजी) दिनेशकुमार आचार्यले प्रसाइँ पक्राउ परेको बताएका हुन्।

भारत र नेपालमा आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई दुवै देशका प्रहरीले अनौपचारिक रूपमा बुझबुझारथ गर्दै आएका छन्।

प्रसाइँ यस्तो अनौपचारिक अभ्यासको पछिल्ला पात्र बनेका छन्।

भारतीय प्रहरीले आतंकवादी क्रियाकलापमा संलग्न भएको आरोप लागेका आफ्ना थुप्रै नागरिकलाई नेपाल प्रहरीको समन्वयमा भारत लगेको पाइन्छ।

त्यसैगरी, नेपालमा अपराध गरेर भारत पुगेकालाई पनि नेपाल प्रहरीले ल्याउने गरेको छ।

प्रसाइँसहित उनका निजी अंगरक्षक दीपक खड्कासमेत प्रहरी नियन्त्रणमा छन्।

उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याएर अदालत लगिएको हो।

जिल्ला अदालत काठमाडौंले प्रसाइँमाथि १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ।

राज्यविरुद्धको कसुरमा प्रसाइँलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको छ।