
तनहुँको भानु नगरपालिकाले यही वैशाख १३ गतेदेखि प्रत्येक साताको शनिबार हाटबजार संचालनमा ल्याउने तयारी थाल्दैछ।
‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार संचालन गर्न तयारी थालिएको हो।
हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ।
भानु–२ नारेश्वरटारमा रहेको बिक्री केन्द्रमा आ–आफ्नो उत्पादन बिक्रीका लागि ल्याउन कृषि तथा पशुपंक्षी शाखाले सबैलाई अनुरोध गरेको छ।
नगरले संचालन गर्न लागेको हाटबजारले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्नुका साथै स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आयआर्जन वृद्धि गर्ने अपेक्षा लिइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताएका छन्।
आवश्यकता अनुसार निश्चित अन्तरालमा हाटबजारलाई निरन्तरता दिने योजना बनाएको प्रमुख त्रिपाठीको भनाई छ।
कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता तथा उपभोक्तालाई सहज पहुँचमासहित गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्य राखेर हाटबजार संचालन गर्न लागिएको नगर उपप्रमुख उमा गोतामेले जानकारी दिइन्।
संपूर्ण किसान, उपभोक्ता, व्यवसायी तथा सरोकार भएकालाई हाटबजारको भरपूर उपयोग गर्न, यसलाई थप व्यवस्थित बनाउँदै दीर्घकालीन रुपमा संचालन गर्न आवश्यक सहयोग र सहकार्यका लागि कृषि तथा पशुपंक्षी शाखाले अनुरोध गरेको छ।
यसैबीच, नगरपालिकाले उक्त स्थानमा हाटबजार संचालनमा ल्याएपछि उपलब्धिमूलक भएमा भानु–९ को बाइसजँगारमा पनि हाटबजार संचालन गर्ने तयारी गरेको छ।