
तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा नि:शुल्क गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार नि:शुल्क हुने जानकारी दिएका छन्।
अध्यक्ष चुमानले उल्लेख गरे, ‘विद्यार्थीको हितका लागि यो निर्णय गरिएको हो। अन्यत्रको अस्पतालको हकमा भने यो निर्णय लागू हुँदैन।’
शिक्षा समितिको बैठकले निजी र सामुदायिक विद्यालयले पुन: भर्ना शुल्क वा वार्षिक शुल्क नलिने निर्णय गरेको छ।
निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको चुमानले उल्लेख गरे।
केही विद्यालयले भर्ना शुल्कमा नाममा पैसा लिएको गुनासो आएपछि आफूहरुले यसमा चासो लिएको चुमानको भनाई छ।
स्वास्थ्यचौकीका रुपमा रहेको आँबुखैरेनी स्वास्थ्यचौकीलाई वि.सं. २०७९ मंसीर १ गते अस्पतालका रुपमा स्तरोन्नती गरिएको थियो।
स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १५ शय्याको अस्पताल संचालन गरेको हो।
अस्पतालले तनहुँको आँबुखैरेनीका अलावा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको ईच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ।
गाउँपालिकाले शिक्षा सुधार अभियान संचालन गरिरहेको छ।
अध्यक्ष चुमानले भने, ‘हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौँ।’
आँबुखैरेनीका ६ वटा वडाभित्र ३५ सामुदायिक विद्यालय छन्।
ती विद्यालयमा करीब ५०० विद्यार्थी अध्ययनरत छन्।