
पर्यटकीय शहर पोखरामा २० औँ संस्करणको ‘फेवा नव वर्ष महोत्सव–२०८२’ सुरु भएको छ।
होटल संघ पोखराले आयोजना गरेको ‘फेवा महोत्सव’ आगामी बैशाख १ गतेसम्म चल्नेछ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा लेकसाइडस्थित अम्मोटमा महोत्सवको उद्घाटन गरेका हुन्।
त्यसअघि, खहरे ड्यामसाइडबाट निकालिएको झाँकीसहितको र्याली महोत्सवस्थल अम्मोटमा पुगेको थियो।
‘फेवा महोत्सव’ अवधिभर पोखरामा आउने पर्यटकका लागि लक्षित गरी होटलले २० प्रतिशत छुट गर्ने भएका छन्।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ।
बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने होटल संघ पोखराले जनाएको छ।
पर्यटन, संस्कृति र खाना ‘फेवा महोत्सव’ को मुख्य आकर्षण रहनेछन्।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम र पर्यटक दौड कार्यक्रम महोत्सवका आकर्षणका रुपमा रहनेछन्।
महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन्।
हाल पोखराका ८० प्रतिशत होटलहरुको अकुपेन्सी ८० प्रतिशत नै पुगेको होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले जनाएका छन्।
सुवेदीका अनुसार महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुर्याउने बताए।
पोखराको पर्यटन प्रबद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने महोत्सवको उद्देश्य रहेको सुवेदीको दाबी छ।