
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) यही वैशाख २१ गतेबाट आगामी जेठ २ गतेसम्म नियमित रूपमा संचालन हुने स्पष्ट पारेको छ।
यसअघि, नेपाल शिक्षक महासंघको आन्दोलनका कारण स्थगित गरिएको परीक्षा अब सहमतिपछि पुन: निर्धारित मितिमा संचालन हुने बोर्डले जनाएको छ।
बोर्डले परीक्षा व्यवस्थापनका संपूर्ण तयारी पूरा भइसकेको बताउँदै परीक्षा मर्यादित, अनुशासित र निष्पक्ष ढंगले सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
निर्धारित परीक्षा केन्द्रहरूमा नै परीक्षा संचालन हुने जनाउँदै बोर्डले केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, संचारकर्मी र संपूर्ण सरोकारवालाहरूलाई सहयोगका लागि अनुरोध गरेको छ।
हालै, विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी अनधिकृत रूपमा भ्रामक सूचना फैलाइएकोप्रति आपत्ति जनाउँदै बोर्डले त्यस्ता सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको छ।
साथै, बोर्डले आफूले कुनै फेसबुक पेज संचालन नगरेको र आधिकारिक सूचनाहरू केवल आफ्नो वेबसाइटमार्फत मात्र प्रकाशित हुने स्पष्ट पारेको छ।
परीक्षार्थीहरूलाई निर्धारित समय तालिकाअनुसार तयारी गर्न अनुरोध गर्दै बोर्डले परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
