पोखराबाट लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सुरु

प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनको चिन्ता

जनसम्मत
वैशाख २८, २०८२, आइतबार

पोखराबाट लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सुरु गरिएको छ।

नेपाल प्रेस युनियनको आयोजनामा मिडिया समिट सुरु गरिएको हो।

शुक्रबारदेखि सुरु मिडिया समिटअन्तर्गत ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ।

समिटअन्तर्गत आइतबार ‘पोखरा सेसन’ भएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरबारे लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटले विश्वमाझ पुर्‍याउन सघाउने बताए।

मुख्यमन्त्रीले पाण्डेले भने, ‘जलवायु परिवर्तनले नेपाल र हिमाली क्षेत्रमा पारिरहेको असरबारे लोमान्थाङ अन्तर्राष्ट्रिय समिटले धैरे विषयमा जानकारी दिने विश्वास लिएको छु। जलवायु परिवर्तनका कारण मुस्ताङ र मनाङका धेरै स्थानमा पानीका मुहानहरु सुक्दैछन्। पानी नपर्ने क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। यसको बारेमा यस मिडिया समिटले धेरै कुराहरु बुझाउने छ।’

सोही अवसरमा मिडियामा पछिल्लो समय मिडियामा समस्या देखिएकाले यो समिटमा त्यसका बारेमा समेत छलफल हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए।

पोखरा महानगपालिकाका मेयर धनराज आचार्यले जलवायु परिवर्तनको असर पोखराले भोगिरहेको बताए।

मेयर आचार्यले भने, ‘जलवायु परिवर्तनको असर पोखराले पनि भोगिरहेको छ। केही वर्ष अगाडि घाम लागिरहेको समयमा सेती नदीमा एक्कासी बाढी आयो।

आगामी दिनमा हुनसक्ने जलवायु परिवर्तनको असर न्यूनिरकरणका लागि सजग हुनुपर्नेमा मेयर आचार्यले जोड दिए।

नेपाल उघोग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अहिलेको डिजिटल युगमा कसरी अघि बढ्ने जिम्वेवार पूर्ण वहन गर्न आग्रह गरे।
जलवायु परिवर्तनको सामना गर्न रणनीति योजना बनाउन समिटले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, अन्तर्राष्ट्रिय पत्रकार महासंघका (आइएफजे)का उपाध्यक्ष सविना ईन्दरजित, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य लोकराज अवस्थी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले बोलेका थिए।

औपचारिक कार्यक्रमपछि ‘जलवायु संकट र पत्रकारिता’ शिर्षकमा पहिलो सत्रमा छलफल भएको थियो। दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल भएको थियो । सेसनमा नेपाली तथा विदेशी पत्रकार, विश्लेषकहरु सहभागी थिए।

सेसनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, राष्ट्रिय समाचार समितका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, आइएफजेका उपाध्यक्ष सविना ईन्दरजित, बंगलादेशका पत्रकार खैरजमान कमाल, भुटानका पत्रकार संजय राबटेन, वरिष्ठ पत्रकार किरण नेपाल, हरिबहादुर थापा नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्ष बाला अधिकारीलगायतले सेसनमा छलफल गरेका थिए।

समिटको चौथो दिन पोखरादेखि मुस्ताङसम्म  टोलीले मिडिया यात्रा र पाँचौं दिन जोमसोममा स्थानीयसँग ‘जलवायु परिवर्तनबाट खेपेका संकट’ बारे अन्तरक्रिया गर्नेछ।

सोही दिन लोमान्थाङमा टोलीले ‘लोमान्थाङ घोषणा पत्र’ जारी गरिने प्रेस युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिएका छन्।

समिटमा अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधिसहित देशभरका १४० भन्दा बढी पत्रकार सहभागी छन्।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भएको समिट अन्तर्गत ‘पोखरा सेसन’ को कार्यक्रममा नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंक अधिकारीले स्वागत र महासचिव दिलिप पौडेलले संचालन गरेका थिए।