
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकारिताको विश्वसनीयता बढाउन स्वयं पत्रकारहरु क्रियाशील बन्नुपर्ने कुरामा जोड दिएका छन्।
पत्रकार महासंघ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले भने, ‘नेपालको लोकतन्त्र र गणत्रन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ। प्रविधिको विकाससंँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै छ। डिजिटल मिडियाको सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता बढाउन पत्रकार स्वयंम क्रियाशिल हुनुपर्छ।’
प्रदेश प्रमुख भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिए।
‘सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहन्छ’, प्रदेश प्रमुख भट्टको भनाई छ।
उनले पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति ईमान्दारिता प्रदर्शन गरिरहेको औंल्याए।
प्रदेश प्रमुख भट्टले भने ‘आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको छ। नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या यथावत् छ। श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्था तथा पत्रकारहरुको सबलीकरणको दिशामा काम अघि बढोस्।’
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संचार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको स्पष्ट पारे।
संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहनुपर्ने उनले उल्लेख गरे।
‘पहिले साधनस्रोत, प्रविधिको अभावमा पनि दिनरात खटिएर नयाँ र रोचक समाचार सम्प्रेषण हुने गर्दथे। औपचारिक शिक्षाको कमी भएपनि पत्रकारहरुको निजी मिहिनेत र परिश्रमले समाचारको गुणात्मकता थियो। हिँजो पेशागत मान प्रतिष्ठा र इज्जत थियो। तर, आजभोलि डिजिटल प्रविधि, साधनस्रोतको पर्याप्तता हुँदाहुँदै पनि समाचारका स्रोतमा परिनिर्भरता बढेको छ’, उनले थपे।
समाज नै ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेशन’ ले पीडित हुँदै गएकोमा प्रदेश प्रमुख भट्टले चिन्ता व्यक्त गरे।
प्रदेश प्रमुख भट्टले लोकतान्त्रिक समाजका लागि नकारात्मकता र कुप्रचार चिन्ताको विषय रहेको औंल्याए।
उनले उल्लेख गरे, ‘मिडियाभित्रको ‘सेन्सरशीप’ संयन्त्र मजबुत हुनुपर्दछ। र, त्यो भन्दा बढी सेल्फ सेन्सरशीपमा ख्याल गर्नुपर्दछ। यहाँको पत्रकारितालाई मैले नियालिरहेको पनि छु।’
सम्मानीत पत्रकार दुर्गा अधिकारी र केशव पाठकले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशील बन्ने उर्जा मिलेको बताए।
स्व. पत्रकार गजेन्द्र भण्डारीका छोरा सन्तोष भण्डारीले बुवाले पत्रकारितामा गरेको योगदानलाई चिरस्थायी राख्न पुरस्कारको स्थापना गरेको र आफू पनि संचारकर्ममा जोडिएको बताए।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्माले सृजनशीलतासँगै पत्रकार निर्भिक हुनु पर्ने औंल्याए।
शर्माले भने, ‘स्वतन्त्रताको परिभाषा आवारापन होइन, पत्रकारितामा संयमतासहितको स्वतन्त्रता चाहिन्छ।’
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारितालाई चौथौ अंगको रुपमा परिभाषा गरेपनि आमसंचार क्षेत्र र पत्रकार हकहितका लागि यथोचित बजेट छुट्याउने नगरेको गुनासो गरे।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानीत व्यक्तित्वको परिचयसहित शुभकामना दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा महासंघका उपाध्यक्ष माधव रेग्मीले स्वागत र सचिव भूपाल गुरूङले कार्यक्रम संचालन गरेका थिए।