पोखराको लेकसाइडमा जेठको ९ गतेदेखि ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुँदै

गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने ‘गाउँ पर्यटन मार्ट’ को मुख्य उद्देश्य रहनेछ

जनसम्मत
जेठ ६, २०८२, मंगलवार

पोखराको लेकसाइडमा यही जेठको ९ गतेदेखि तेस्रो संस्करणको ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुँदैछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा ‘गाउँ पर्यटन मार्ट–२०८२’ हुने भएको हो।

मार्ट आयोजना हुने मिति : २०८२, जेष्ठ ९ र १० गते।
मार्ट आयोजना हुने स्थान : क्रिस्टल महल, अम्बोट, लेकसाइड स्ट्रीट नं ४ र ५ को बीचमा ।

आयोजक संस्थाहरु :

आयोजक : नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखरा।
सह–आयोजक : गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF) गण्डकी।
सहकार्य : उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  होमस्टे फेडरेशन नेपाल (होफेन), गण्डकी                    प्रदेश, पर्यटन परिषद पोखरा।

मार्ट आयोजनाका उद्देश्यहरु:

सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने।
सामुदायिक होमस्टे र सेवाहरुलाई बजारीकरण तथा बजारसँग जोड्ने।
गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने।
गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने।
गाउँ पर्यटन प्रवर्द्धन गरी प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने।

मार्ट संचालनका अपेक्षित उपलब्धीहरु:

पर्यटकीय गाउँको प्रवर्द्धन हुनेछ।
सहभागीहरुले आ–आफ्ना गाउँ/होमस्टेद्वारा दिन सक्ने प्यकेजका बारेमा जानकारी प्रवाह गराउनेछ।
गाउँमा उत्पादन हुने सामग्री तथा सेवाको प्रवर्द्धन हुनेछ।
सामुदायिक घरबासको व्यवसायिकता र बजार पहुँचको विस्तारमा योगदान पुग्छ।
पर्यटन क्षेत्रप्रति संचारकर्मी, नीति निर्माता र सर्वसाधारणको जागरुकता अभिवृद्धिमा योगदान पुग्छ।

मार्ट कार्यक्रममा गरिने कार्यक्रमहरु:

सामुदायिक घरबास (होमस्टे) तथा गाउँको पर्यटन व्यवसायीका स्टलहरु स्थापना।

टक शो कार्यक्रम:

                          क. गाउँ पर्यटनको संभावना, चुनौती र अवसर।
                          ख. गाउँ पर्यटन प्रवर्द्धनमा उद्योगी/व्यवसायीको भूमिका।
                          ग. गाउँ पर्यटन प्रवर्द्धनमा संचार क्षेत्रको भूमिका।

सांस्कृतिक कार्यक्रम: विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिमार्फत संस्कृति प्रदर्शन।
सूचना तथा प्रचार सामग्रीको वितरण: गाउँ पर्यटनसम्बन्धी प्रचार–प्रसारका सामग्रीहरुको वितरण।
संचारमाध्यमसँग पर्यटन प्रवर्द्धनमा सहकार्यसम्बन्धी सत्र आयोजना गरी समन्वय र सहकार्य।

सहभागिता : मार्टमा देहायअनुसारको सहभागिता हुने अनुमान गरिएको छ

अनुमानित व्यवसायीहरुको संख्या:  करीब २५ वटासम्मको गाउँ पर्यटन सम्बद्ध व्यवसायीहरु।
प्रतिनिधिहरु: पर्यटन व्यवसायी, नीति निर्माताहरु, स्थानीय तहका प्रतिनिधि, संघसंस्थाहरु, संचारकर्मीहरु।
पर्यटक तथा आगन्तुकहरु: स्वदेशी र विदेशी पर्यटकहरु, कलेज तथा विद्यालयका विद्यार्थीहरु।

गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने ‘गाउँ पर्यटन मार्ट’ को मुख्य उद्देश्य रहने नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

गाउँ प्रवर्द्धन तथा बजारीकरणको लागि प्लाटफर्म सृजना गर्नु ‘गाउँ पर्यटन मार्ट’ को अर्को उद्देश्य रहेको लामिछानेले बताए।

गण्डकी प्रदेशका ११ जिल्लामध्य म्याग्दी र गोर्खाबाहेक अन्य ९ जिल्लाका २५ वटा होमस्टेहरु मार्टको एकै ठाँउमा सहभागी हुने उनले दाबी गरे।

प्रमुख लामिछानेका अनुसार यसमा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवर्द्धन, उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिकाबारे अन्तरक्रियात्मक छलफल हुनेछन्।

विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति, गाउँ पर्यटनसम्बन्धी प्रचार–प्रसार सामग्रीको वितरणलगायतका कार्यक्रम समावेश हुने उनले बताए।

विशेषगरी यस मार्टको उद्देश्य भनेको नै सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसँग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने र प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने नै मार्टको उद्देश्य रहेको बताए।

यससँगै मार्टले गाउँमा खुलेका होमस्टे व्यवसायमार्फत गाउँमा हाल पलायन भइरहेका युवालाई गाउँमै आय–आर्जनका अवसर सिर्जना गरी पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकलाई समेत गाउँमा रहेका पर्यटकीय संसाधनसँग जोड्दै उनीहरुको बसाई अवधि लम्ब्याउने पनि मार्टको उद्देश्य रहेको प्रमुख लामिछानेले बताए।

यस्तै, होमस्टे मार्टका लागि उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फेडरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको सहकार्य रहनेछ।