
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया हाउसहरुले राज्य व्यवस्थालाई सुदृढ र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन्।
संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार पोखरामा आयोजना गरेको ‘पत्रकारितामा महिलाहरुको सहभागिता तथा विकासको लागि सरोकारवालासँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा बोल्दै मन्त्री गुरुङले प्रष्ट पारे, ‘पत्रकार तथा मिडिया हाउसले राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ।’
नेताको गुण गाउने नभएर, सरकारका चुनौती, समस्यालाई उजागर गर्नु पत्रकारहरुको जिम्मेवारी रहेको उनको भनाई थियो।
उनले भने, ‘पत्रकारले सरकारको राम्रा पक्ष देखाउनु राम्रो हो। तर, सरकारका गल्ती कमजोरीलाई पनि उजागर गर्नुपर्छ। पत्रकारिताले आलोचना मात्र होइन। समाधानमुखी सोंच र सकारात्मक सुझाव पनि दिन सक्नुपर्छ।’
उनले साइबर अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसद्मा पेस गरिने पनि जानकारी दिए।
‘मिडिया काउन्सिल विधेयक शीघ्र पारित गर्ने र आचारसंहिता विपरीतका गतिविधि नियमन गरिनेछ,’ उनले भने।
उनले खोजमूलक पत्रकारिता हुनुपर्ने औंल्याए।
उनले भने, ‘पत्रकारिता खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन भन्दै यसमा सबैको ध्यान जानुपर्छ।’
सूचनाको हक प्राप्ति मौलिक अधिकार रहेको उनले दाबी गरे।
‘त्यसको प्रत्याभूत गर्ने, कसरी व्यवस्थित र मर्यादित गर्ने भनेर मन्त्रालयले काम गरिरहेको छ’, उनले सुनाए।
सचिव राधिका अर्यालले नयाँ प्रविधिको संचार तथा सूचना प्रविधि (आइसीटी) को विकासले पत्रकारिता पेसा जटिल मोडमा पुगेको उल्लेख गरिन्।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव गजेन्द्रकुमार ठाकुरले ६० वर्ष पुरानो संचार ऐन कार्यान्वयनमा रहेको प्रष्ट पारे।
उनले भने, ‘नियमावलीलाई समय सापेक्ष बनाउनु आवश्यकता हो। प्रविधिले फड्को मारेको अवस्थामा पनि संचार ऐन, कानुन परिमार्जन गर्न नसक्नु लज्जास्पद भएको छ। मिडिया हाउसको नियमित अनुगमन भएमा पत्रकारिताको गुणस्तरमा सुधार आउनुका साथै भ्रामक र अनैतिक सामग्रीको प्रकाशनमा रोक लगाउन सकिन्छ।’
संचारिका समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले मिडिया हाउसहरु महिलामैत्री हुनुपर्नेमा जोड दिइन्।
उनले महिला पत्रकारले पारिवारिक सहयोग नपाउने, कार्यालयमा तलब विभेद, लैंगिक विभेद एवं हिंशाको सामना गर्नुपरेको श्रेष्ठले बताइन्।
उनले महिला पत्रकारका अवस्थाबारे जानकारी गराएकी थिइन्।
स्टीङ अपरेसन पत्रकारिताको आचारसहिंताभित्र नपर्ने तथा यसले पत्रकारिताको मर्यादामाथि प्रश्न उठाउने प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेको धारणा छ।
पत्रकारको काम सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचार प्रकाशन गर्नु रहेको उनको भनाई छ।
उनले भने, ‘जासुसी शैलीमा सूचना संकलन गरी सार्वजनिक गर्नु व्यावसायिक पत्रकारिताको अभ्यास होइन। यस्तो पत्रकारिता पत्रकारहरुको नैतिकताभित्र पनि पर्दैन। गलत वा भ्रामक सामग्री प्रकाशित भएमा संचारमाध्यमले क्षमा माग्नुपर्छ। गल्ती स्वीकार गर्नु कमजोरी होइन, जिम्मेवारीबोध हो। पत्रकारिता विश्वासको व्यवसाय हो। र, यो विश्वास कायम राख्न संचारमाध्यमले आफूले गरेका त्रुटिप्रति जवाफदेही बन्नुपर्छ।’
कार्यक्रममा प्रेस रजिस्ट्रार गण्डकीकी प्रमुख विमला भण्डारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले बोलेका थिए।
कार्यक्रममा गण्डकीका ७५ जना महिला पत्रकारहरुको सहभागिता थियो।