
चैतको १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपीहरूको बयान सुरू भएको छ।
आइतबार दर्ता भएको मुद्दामा सोमबारदेखि काठमाण्डौ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सुरू भएको हो।
चैत १५ गतेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंसहित ५० जनालाई व्यक्ति विशेष मुद्दा र ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत मुद्दा दायर गरेको सरकारी वकील कार्यालय काठमाण्डौले जनाएको छ।
यस्तै, आरोपी ४ जना बालकविरुद्ध भने सोमबार बाल अदालतमा मुद्दा दायर भएको छ।
एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ।
१०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएपनि जिल्ला सरकारी वकीलको कार्यालयले ४ बालकसहित ६५ जनाविरुद्ध मात्र अभियोगपत्र दायर गरेको हो।
राजावादीले चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र कीर्तिपुर नगरपालिका–४ का सविन महर्जनको ज्यान गएको थियो।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए।
गोली लागेर घाइते भएका ३ जना अझैपनि उपचारका क्रममा छन्।
तीनकुनेको प्रदर्शनमा निजी घर, अस्पताल, बैंक, पार्टी कार्यालय, सरकारी कार्यालय, गाडीलगायतमा क्षति पुगेको थियो।