फेवातालको तालघरमा १ हजार ५५ वटा पिल्लरहरु गाढिदैँ

फेवाको तालघर ६.३४३ वर्ग कि.मि. अर्थात १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ

जनसम्मत
जेठ १६, २०८२, शुक्रबार

पोखराको फेवातालको तालघरमा शनिबारदेखि पिल्लरहरु गाढिदैँछ।

फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने भएको हो।

समितिका संयोजक तथ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलिदेखि नै ३ तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए।

पत्रकार सम्मेलनमा जनाइएअनुसार मुख्यमन्त्री पाण्डेले पहिलो पिल्लर गाढ्नेछन्।

पोखरा महानगर प्रमुख धनराज आचार्यले दोस्रो पिल्लर गाढ्नेछन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तेस्रो पिल्लर गाढ्नेछन्।

‘पहिलो पिल्लर मैले गाढ्छु। दोस्रो पिल्लर मेयर सावले गाढ्नुहुन्छ। र, तेस्रो पिल्लर प्रमुख जिल्ला अधिकारीज्यूले गाढ््नुहुन्छ’, मुख्यमन्त्री पाण्डेले भने।

उनका अनुसार तालको चारैतर्फ १ हजार ५५ वटा पिल्लरहरु गाढिनेछन्।

फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमश: गर्दै जाने योजना बनाइएको छ।

फेवातालको पछिल्लो पटक पुन: नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरणहरू यकिन गरिएका छन्।

फेवातालको सिमांकन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सीमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण सम्पन्न गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधारविन्दुहरू कायम गरी ४० से.मि. उचाईका २९ पिल्लरहरु जमिनमुनि गाढिएका छन्।

यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको नगर प्रमुख आचार्यले बताए।

सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययनपछि फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको आचार्यले बताए।

उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालको तालघर ६.३४३ वर्ग कि.मि. अर्थात १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउने प्रमुख आचार्यको दाबी छ।

सम्मानीत सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको कुल क्षेत्रफल ७.६१६ वर्ग कि.मि. (१४ हजार ९७० रोपनी ५ आना २ दाम) कायम हुने आचार्यले बताए।