कुशल पुर्जाले जिते अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि

३६ किलोमिटरको दूरी २ घण्टा ४७ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै कुशल पहिलो बने

जनसम्मत
जेठ २०, २०८२, मंगलवार

म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि जितेका छन्।

अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा आयोजना गरिएको अन्नपूर्ण ‘ट्रेल रेस’ मा कुशल पहिलो बने।

४ हजार ९१ मिटर उचाईको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ३६

किलोमिटरको दूरी कुशलले २ घण्टा ४७ मिनेट ३७ सेकेन्डमा पूरा गरे।

अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले २ घण्टा ५२ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै उक्त स्पर्धामा दोस्रो बने।

त्यस्तै, सञ्जयबहादुर बरुवालले ३ घण्टा ८ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भए।

विजयी पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता बरुवाल नेपाली सेनाका जवान हुन्।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाइँदैछ।