
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
प्रदेश प्रमुख डिल्लिराज भट्टले बुधवारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ।
‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका साथ अघि बढ्ने प्रतिबद्धता गरिएको छ।
नीति तथा कार्यक्रममा घरेलु उत्पादनमा आत्मनिर्भरता, युवामैत्री उद्यमशीलता, महिला सशक्तीकरण, प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार, तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तरात्मक सुधारका योजना उल्लेख छन्।
त्यस्तै, भूगोलअनुसारको विकास, साना तथा घरेलु उद्योग प्रवर्द्धन, जलविद्युत् परियोजना र वैकल्पिक ऊर्जामा लगानी, र निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ।
पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मान्दै पर्यटकीय पूर्वाधार निर्माण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने योजना समेत समावेश गरिएको छ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत समावेशी विकास, संघीयताको संस्थागत मजबुतीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रणालीगत सुधारमा पनि जोड दिएको छ।
पोखराको ब्राण्डिङका लागि ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ तथा ‘राउण्ड फेवा, ‘भ्यु फेवा’ कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
तस्बीर: प्रदेश प्रमुख सचिवालय गण्डकी प्रदेश