
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झण्डै ३२ अर्बको बजेट ल्याएको छ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आयतबार प्रदेशसभामा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बजेट प्रस्तुत गरेका छन्।
आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ छ।
यसैगरी, पूँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छ।
चालूतर्फ कूल विनियोजनको ३९ दशमलव ५ प्रतिशत र पूँजीगततर्फ ५९ दशमलव ७ प्रतिशत छ।
यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ छ।
यसैगरी, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख रुपैयाँ र प्रदेशको आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ तथा चालु वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद प्राप्त हुने अनुमान गरिएको छ।
बजेटको स्रोतमा न्यून हुने रकममध्ये १ अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको उल्लेख छ।
बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्ब ९८ करोड ९ लाख ८ हजार विनियोजन गरिएको छ।
त्यसैगरी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लाख ९३ हजार छुट्टाइएको छ।
यसैगरी, वन तथा वातावरण मन्त्रालयको लागि १ अर्ब ६ करोड ५० लाख ४० हजार विनियोजन गरिएको छ।
यस्तै, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३९ करोड ५१ लाख ६७ हजार विनियोजन गरिएको छ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ३२ करोड ७० लाख ४० हजार छुट्टाइएको छ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि ३ अर्ब ८८ करोड ८१ लाख विनियोजन गरिएको छ।
प्रदेश विपद् व्यवस्थापन कोषमा न्युनतम १० करोड मौज्दात रहने व्यवस्था मिलाइएको छ।