पत्रकार अमृत सुवेदीसहित पोखराका ६ जनालाई ‘वर्ष उत्कृष्ठ पुरस्कार’ प्रदान

पुरस्कार राशि नगद ३० हजार रुपैयाँ छ

जनसम्मत
असार १४, २०८२, शनिबार

पोखरा महानगरपालिका नगर युवा परिषदले पत्रकार अमृत सुवेदीसहित पोखरा क्षेत्रका ६ जनालाई ‘वर्ष उत्कृष्ठ पुरस्कार प्रदान’ गरेको छ।

पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरकर्मी गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत भएका हुन्।

पोखरा महानगरका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरेका हुन्।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पत्रकारिता गरिरहेका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत भएका हुन्।

सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा थिएटरका संचालक मुक्तिबहादुर कार्की (परिवर्तन) कृषिबाट अर्गानिक ‘हरिलो’ उत्पादन तथा विक्री गरिरहेकी रोशनी आचार्य, खेलकुद क्षेत्रबाट लङ टेनिशका खेलाडी प्रदीप खड्का पुरस्कृत भए।

गण्डकी विश्वविद्यालयका डिन डा। कपिल अधिकारीको संयोजकत्वमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, कानुन व्यवसायी कुञ्जनी प्यासीपरियार, पोखरा खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा ६ जनालाई पुरस्कृत गरिएको पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए।

६ जना युवाहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरे।

विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिहरुले ६ जना युवाहरुको नाम सिफारिस गरेका थिए । छनोट समिति संयोजक डा.अधिकारीले आआफ्नो क्षेत्रमा दख्खल राखेका देशमै सम्भावना देखाइरहेका युवाहरुको सूचीबाट ६ जनाको नाम सिफारिस गरिएको बताए।

‘६ वटा क्षेत्रमा विभाजन गरेर विभिन्न चरणको छनोट प्रक्रियाबाट नाम टुंग्यायौं तर यो सूचीमा हुने अन्य पनि योग्य नभएर होइन, भएकामध्येबाट राम्रो छानिएको हो,’ संयोजक अधिकारीले भने।

साहित्यकार उपेन्द्र पौडेलले पोखरा अब भूगोल नभएर संस्कृति बनेको बताउँदै नागरिकता हेरेर युवा प्रतिभा छनोट गरिएको बताए।

पोखरा महानगरका मेयर आचार्यले अहिले समाजमा निराशामात्रै व्यक्त भइरहेका बेला आशा जगाइरहेका युवाहरुलाई पुरस्कृत गर्दा अन्य युवाका निम्ति पनि प्रेरणादायी हुने बताए।