साफ यु–२० महिला च्याम्पियनसीप: श्रीलंकाको पोस्टमा नेपालको ७ गोल

दोस्रो खेलमा आयोजक बंगलादेशसँग बलियो नेपाल ३–२ ले स्तब्ध बनेको थियो

जनसम्मत
असार ३२, २०८२, बुधबार

साफ यु–२० महिला च्याम्पियनसीपमा नेपालले आफ्नो तेस्रो खेलमा फराकिलो गोलअन्तरमा दोस्रो जीत निकालेको छ।

मिना देउवाको ह्याट्रिकमा नेपालले साफ यु–२० महिला च्याम्पियनसीपमा श्रीलंकालाई ७–० को फराकिलो अन्तरमा हराएको हो।

बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण नियमित समयभन्दा डेढ घण्टा ढिला गरी सुरु भइको खेलमा नेपालले दोस्रो जीत निकालेको हो।

३ खेलबाट नेपालले ६ अंक बनाएको छ।

श्रीलंकाविरूद्ध नेपालले गोलको वर्षा नै गर्‍यो।

मिनाले ह्याट्रिक गरिन्।

त्यस्तै, पुर्णिमा राईले २ थपिन्।

समीक्षा मगर र सरिता कुमारी नाथले समान १/१ गोल जोडे।

खेलको आठौं मिनेटमा मिनाले गोलको खाता खोलिन्।

उनले बक्स बाहिरबाट हानेको प्रहार गोलमा परिणत भयो।

१३ औं मिनेटमा समीक्षाले अग्रता दोब्बर बनाइन्।

श्रीलंकन खेलाडीले क्लियर गर्न नसकेको बललाई समीक्षाले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो।

खेलको ४२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो।

माया मास्केको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोलकीपर थारुसिका डी डोडामगोडागीले बचाएपनि रिबाउन्डमा मिनाले सेकेन्ड बारमा हानेको प्रहार पोलमा लाग्दै गोल भयो।

पहिलो हाफको इन्ज्युरी टाइममा पूर्णिमा राईले २ गोल गरिन्।

थप गरिएको ४ मिनेटको दोस्रो मिनेटमा काउन्टर एटयाकमा बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लियो।

यसपछि, इन्जूरी समयको चौथो मिनेटमा पूर्णिमाले कीपरसँगको वान भर्सेज वानमा हानेको प्रहार कीपरको हातमा लागेर गोलमा परिणत भयो।

पहिलो हाफमा नेपालले ५–० को अग्रता बनायो।

दोस्रो हाफमा भने श्रीलंकाविरूद्ध नेपालले २ गोल मात्र गर्‍यो।

७० औं मिनेटमा वर्षा ओलीको क्रस बलले श्रीलंकाको डिफेन्डरलाई लागेर आएको बललाई मिनाले सही दिशा देखाइन्।

योसँगै मिनाले ह्याट्रिकको पूरा गरिन्।

यसपछि, इन्जूरी समयको पहिलो मिनेटमा करिब २५ कार्ड टाढाबाट सरिताले हानेको फ्री–किक प्रहार श्रीलंकाकी गोल कीपरको हातमा लाग्दै गोल भयो।

यो सँगै नेपालले ७–० को जीत निकाल्यो।

पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाल दोस्रो खेलको अन्तिम समयमा आयोजक बंलादेशसँग ३–२ गोल अन्तरले स्तब्ध बनेको थियो।

अब नेपालले बिहिवार श्रीलंकासँग नै खेल्नेछ भने त्यसपछि भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।