
पत्रकार रुद्र श्रीषमगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानीत भएका छन्।
गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाले पत्रकार श्रीषमगरलाई सम्मानपत्र तथा नगद १५ हजारसहित सम्मान गरे।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा संरक्षित सो पुरस्कार प्रदान गर्दै मन्त्री थापाले गण्डकी प्रदेश सरकारले हाल मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कायान्वयन गर्ने विधयेक पास गरेको उल्लेख गरे।
उनले विधेयकलाई कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याए।
मगरहरुको संस्कार र संस्कृति देशको पहिचान भएकाले यसलाई जोगाउन नयाँ र पुराना पुस्ताले विषेश ध्यान दिनुपर्ने मन्त्री थापाको भनाई छ।
कार्यक्रममा बोल्दै सम्मानीत श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको उल्लेख गरे।
कार्यक्रममा नेपाल मगर संघका सांस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले कौराहाको संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कार स्थापित गरिएको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले नेपालका सबै भाषा, परम्परा, कला र आस्थाहरु हाम्रा मौलिक पहिचान भएको हुँदा यिनीहरुको संरक्षण र सम्वर्द्धन आवश्यक रहेको औंल्याए।
संघका अध्यक्ष सुरज थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस काउन्सिल नेपालका सदस्य तथा पत्रकार केशवशरण लामिछाने, छनौट समितिका संयोजक एमबी आस्थामगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापालगायतले मगर भाषाको पहिचानका बारेमा बोलेका थिए।