पोखरामा ऐतिहासिक चाडपर्व उपहार कुपन योजना सुरु

कुपन योजनामा ३१० भन्दा बढी व्यवसायीहरुको सहभागिता

जनसम्मत
श्रावण १४, २०८२, बुधबार

पोखरासहित कास्की जिल्लाभर पहिलोपटक ‘ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ सुरु गरिएको छ।

पोखराका विभिन्न व्यवसायी तथा इलेक्ट्रोनिक तथा मोबाइल व्यापारमा संलग्न प्रतिष्ठानहरूको संयुक्त आयोजनामा सुरु भएको यस योजनाको उद्देश्य ग्राहकलाई आकर्षित गर्दै बजार प्रवर्द्धन गर्नु रहेको पोखरा इलेकट्रोनिक्स पोखरा मोबाइल्स संघ, कास्कीद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएको छ।

पत्रकार सम्मेलनमार्फत योजना संयोजक तथा आयोजक समिति अध्यक्ष चिन्तामणि खरेलले योजनालाई सफल बनाउन आग्रह गरे।

२०८२ साउन १५ गतेदेखि ५ महिना अर्थात् माघ १५ गतेसम्म संचालन हुने कुपन योजनामा सहभागी व्यवसायीहरूबाट सामान खरिद गर्ने ग्राहकले उपहार कुपन प्राप्त गर्नेछन्।

‘मोबाइल तथा इलेक्ट्रोनिक सामान खरिदमा उपहार, बाइक स्कुटर हातमा’ भन्ने मूल नाराका साथ संचालन गरिएको योजनामा ग्राहकलाई स्कुटर, मोबाइल, टिभी, ल्यापटप, राइसकुकर, स्मार्ट घडी, इयरबड्सलगायतका थुप्रै उपहार जित्ने मौका मिल्नेछ।

योजनाअन्तर्गत ५०६ जना भाग्यशालीले उपहार जित्नेछन्।

त्यस्तै, ५ जनाले विशेष आकर्षण स्वरूप मोटरसाइकल, स्कुटर र ल्यापटप जित्नेछन्।

उपहार योजनामा मोटरसाइकल–१, स्कुटर–१, फोल्डेबल मोबाइल–२, ल्यापटप–२, स्मार्टफोन–२०, ३२ इञ्चको टिभी–५, राइसकुकर–१०, इन्डक्सन–१०, कीप्याड फोन–१२५, इयरबड–१२५, स्पिकर–२०, पावर बैंक–३०, भित्ते घडी–१२५, स्मार्ट घडी–१२५ समावेश गरिएको छ।

कास्की जिल्लाभरका ३१० व्यवसायीहरु यस योजनामा आबद्ध छन् भने ५ महिनाभित्र ३ लाख कुपन बाँड्ने लक्ष्य लिइएको छ।

योजनालाई सफल बनाउन मुख्य प्रायोजक एमआई मोबाइल, प्रायोजक एचटीसी मोबाइल, टिकट सह-प्रायोजक नेसन्स इन्टरनेशनल एजुकेशन कल्सल्टेन्सीले मुख्य तथा सह–प्रायोजन गरेको छ।

कार्यक्रमको संयोजन र समन्वय नेपाल मोबाइल व्यवसायी संघ गण्डकी प्रदेशले गरिरहेको छ।

संपूर्ण सहयोगी संस्था, व्यवसायी, ग्राहक तथा शुभेच्छुकलाई आभार व्यक्त गरे।