
एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हरायो।
निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपालकी शुक्रिया मियाँले खेलको ९० औं मिनेटमा विजयी गोल गरिन्।
यसअघि, खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टी नेपालले सदुपयोग गर्न सकेन।
मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लागेर फर्किएको थियो।
रिबाउन्ड बललाई नेपाली खेलाडीले भेट्न सकेनन्।
प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो।
अब, नेपालले समूह चरणको अन्तिम खेलमा आइतवार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ।
३२ देशको सहभागिता रहेको छनोटमा ८ समूह छन्।
हरेक समूहका विजेता ८ टोली तथा उत्कृष्ट ३ उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछन्।