
पोखरा र बागलुङबाट एक साथ प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक पत्रिका २३ औं वर्षमा प्रवेश गरेको छ।
आइतबार एक समारोहबीच पत्रिकाले आफ्नो २३ औं वार्षिकोत्सव पोखरामा मनाएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको उद्घाटन गर्दै बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै पत्रिकाले गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए।
बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले दाबी गरे।
आचार्यले प्रविधि फेरिएपनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व बढ्ने क्रम नेपालमा मात्र नभइ संसारभर रहेको दृष्टान्त सुनाए।
अमेरिकामा पुग्दा पनि उनले पत्रपत्रिकाको महत्व बढी देखिएको बताए।
डिजिटल फड्कोसँगै दस्तावेजीकरणका लागि पत्रपत्रिकाको महत्व जहिले पनि रहने उनको भनाई छ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रपत्रिका नवीकरणको काम अब पोखराबाटै हुने बताए।
उनले संघीयताको सच्चा अभ्यास अब प्रेस रजिष्ट्रार कार्यालयले थाल्ने भन्दै संचारकर्मीहरुले अब काठमाण्डौं धाउने समस्या भोग्ननपर्ने बताइन्।
उनले संचार उद्यममा सहकार्य र एक–अर्काको सम्मान गर्ने भावनाको आवस्यकता रहेको पनि बताइन्।
उनले संचारमाध्यम र संचारकर्मीहरु सहकार्य गरेर हिंड्दा मात्रै गन्तव्यमा पुगिने बताइन्।
प्रेस स्वतन्त्रताका लागि संचारमाध्यमको एकताको आवस्यकतामा उनले जोड दिइन्।
ढोरपाटन दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पोखरा व्युरो प्रमुख बासुदेव मिश्रको संचालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेलगायतले शुभकामना मन्तव्य राखे।
२०५९ साल भदौ १ गते ढोरपाटन दैनिक स्थापना भएको हो।
राजाको निरंकुश शासन व्यवस्थाको समयमा पत्रिकाले बागलुङको ग्रामीण क्षेत्रको सूचना प्रवाह गर्थ्यो।
संघीयता कार्यान्वयनपछि ढोरपाटनले बागलुङबाट पोखराको यात्रा तय गर्दै गण्डकी प्रदेशस्तरीय बनाएको प्रधान सम्पादक गौतमले जानकारी दिएका छन्।
आगामी दिनमा पनि ढोरपाटनलाई अब्बल बनाउन पहल गर्ने उनले बताए।