
पोखराको लामाचौरमा हुने २७ औं संस्करणको ‘तीज महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ।
‘लामाचौर तीज महोत्सव–२०८२’ को तयारी अन्तिम चरणमा पुगेको पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरले जनाएको छ।
संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन लागेको हो।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ई. दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए।
‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो।
यसबाहेक तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता हुनेछ।
पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउनेछ।
सर्वोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाउनेछ।
अन्तरमावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार पाउनेछ।
साथै, दुवै ईभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार पाउनेछ।
तीज गीतमा प्रथमले ५० हजार पुरस्कार पाउनेछ।
दोस्रोले ३० हजार पुरस्कार पाउनेछ।
तेस्रोले २० हजार र सान्त्वनाले १० हजार पुरस्कार पाउनेछ।
सहभागी टिमले प्रोत्साहनस्वरुप २ हजार पाउनेछन्।
लोकनृत्यमा प्रथमले ४० हजार, दोस्रोले २५ र तेस्रोले १५ हजार र सान्त्वना ३ टिम तथा उत्कृष्ट भेषभूषाले ५ हजार पाउनेछन्।
महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुतिलगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष भण्डारीले जानकारी दिए।
यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दूतराज, जानकी तारामीमगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुरुङ, लक्ष्मी नेपालीलगायतको प्रस्तुति हुने प्रचार–प्रसार संयोजक विष्णुप्रसाद गौतमले बताए।
महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ।
२०५४ सालमा पहिलोपल्ट लामाचौर मेला आयोजना गरेको संस्थाले एम्बुलेन्स, शववाहन संचालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ।