पोखराको पुरानो टुँडिखेलमा ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव’ सुरु
तीजलाई मौलिक पर्वको रुपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रह
जनसम्मत
भाद्र ६, २०८२, शुक्रबार
पोखराको पुरानो टुँडिखेलमा शुक्रबारदेखि तेस्रो संस्करणका ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव’ सुरु भएको छ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रले ‘हाम्रो सँस्कृति, हाम्रो पहिचान, लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव’ सुरु भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘तीज महोत्सव’को उद्घाटन गरेका हुन्।
प्रचण्डले इन्द्रेणीले गरेको विभिन्न सामाजिक कामको प्रशसा गदै, अब गर्ने कामहरुमा आफनो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए।
तीज मौलिक पर्व रहेकाले यस्लाई मौलिक पर्वको रुपमा मनाउन आग्रह गदै प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका थिए ।
कार्यक्रममा दुई जनालाई सम्मान गरिएको थियो।
श्रष्टा सम्मानतर्फ गोविन्द कोईराला र शिक्षा क्षेत्रका उल्लेख्य योगदान दिएको भन्दै मरणोपरान्त स्व. सिद्धी गौचनलाई सम्मान गरिएको थियो।
महोत्सवको उद्घाटनपूर्व पुरानो टुँडिखेलबाट विभिन्न संघसंस्था, आमा समूह, विद्यालय, जातजातिलगायतको सहभागितामा झाँकीसहितको र्याली निकालिनएको थियो।
टुँडिखेलबाट सुरु र्याली वडाका विभिन्न स्थानको परिक्रमा पछि पुन: महोत्सवस्थल टँुडिखेलमा आएर परिणत भएको थियो।
१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैक तथा वित्तिय संस्था, लत्ताकपडासँगै अन्य विभिन्न गरी १५० व्यापारिक स्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वालउद्यान रहने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिएका छन्।
यसैगरि, महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ।
महोत्सवमा खुल्ला मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला तीजगीत गृहणी एकल नृत्य प्रतियोगिता, परम्परागत सीप ढिँकीजाँतो प्रतियोगिता, छेलो हान्ने प्रतियोगितासमेत आयोजना गरिने उनले जानकारी दिए।