
पोखराका दुई युवा उद्यमीहरु भाष्कर उपाध्याय र राहूल उपाध्यायलाई डागर स्मृति पुरस्कार प्रदान गरिएको छ।
डागर स्मृति प्रतिष्ठान, नेपालको १० औं साधारणसभा तथा स्व. राजन डागरको २४ औं स्मृति दिवसको अवसरमा विहीबार पोखरामा आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरिएको हो।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सरिता तिम्सिना पंगेनी, संस्थापिका रमा प्रासरलगायतले उपाध्यायद्वयलाई दोसल्ला ओढाएर, सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कार राशि नगद २० हजार रुपैयाँ रहेको छ।
पुरस्कृत व्यक्तित्वहरु भाष्कर र राहूल पोखरास्थित मारवाडी भोजनालयका संचालकहरु हुन्।
कार्यक्रममा पुरस्कृत उपाध्यायद्वयले पुरस्कार राशिमा थप २० हजार रुपैयाँ थप गरी ४० हजार रुपैयाँ राष्ट्रिय परोपकार महासंघद्धारा संचालित सिद्ध गुरुकूल आश्रमलाई हस्तान्तरण गरे।
भागवत भाष्कर पण्डित कमल नयन गौतमलाई सो रकम हस्तान्तरण गरिएको हो।
त्यसैगरी, लायन्स क्लब अफ पोखरा समर्पणकी अम्बु कर्माचार्यले प्रतिष्ठानलाई सहयोगस्वरुप नगद १० हजार रुपैयाँ प्रदान गरिन्।
त्यस्तै, लिला श्रेष्ठले पनि प्रतिष्ठानलाई सहयोगस्वरुप १० हजार ५५५ रुपैयाँ प्रदान गरिन्।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तिम्सिना र संचारकर्मी दीपेनद्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
प्रमुख अतिथि एवं पोखरा महानगर प्रमुख आचार्यले प्रतिष्ठानमार्फत स्व. राजन डागरलाई बचाउने प्रयास भएको उल्लेख गरे।
कार्यक्रममा भागवत भाष्कर पण्डित कमलनयन गौतम, पुस्तक तथा स्टेशनरी व्यवसायी संघका गोविन्द गौतम, कलम बचत तथा ऋण सहकारी संस्था लि.का मनोहरि सापकोटालगायतले शुभकामना मन्तव्य राखे।
प्रतिष्ठानकी अध्यक्ष सरिता तिम्सिना पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी दीपेन्द्र श्रेष्ठले स्वागत र असफल गौतमले कार्यक्रम संचालन गरेका थिए।