पत्रकार केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान

पुरस्कार राशि २५ हजार ५५५ रुपैयाँ नगद छ

जनसम्मत
असाेज १०, २०८२, शुक्रबार

पत्रकार केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

सहारा क्लब पोखराद्वारा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पाठक सम्मानीत भएका हुन्।

सहारा क्लब पोखराको २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशनको अवसरमा शुक्रबार आयोजित समारोहमा उनलाई २५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो।

प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन्।

क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई सो पुरस्कार दिने निर्णय गरेको थियो।

सहारा क्लब पोखराद्धारा सम्मानीत हुने पाठक १९ ओै पत्रकार हुन्।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदानका आधारमा बर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ।

पत्रकार पाठक ३ दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील छन्।

उनी प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष हुन्।

क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गरेको छ।

पोखरा–१५ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गरेकी थिइन्।

क्लबको शुक्रबार नै नयाँ कार्यसमिति निर्वाचित हुने जनाइएको छ।

नियमित रूपमा आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिता गर्दै आएको क्लबले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी संचालन गरेको छ।

एकेडेमीमा हाल ३० जना बालकहरुले फुटबल प्रशिक्षण लिइरहेका छन्।