अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदाता सूचीमा नाम दर्ता गर्न मिल्छ

फागुन २१ गतेको चुनावका लागि मताधिकार प्रयोग गर्न नाम दर्ता गराउने समयसीमा यही कार्तिक ३० गतेसम्म मात्रै छ

जनसम्मत
कार्तिक २८, २०८२, शुक्रबार

अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदाता सूचीमा नाम दर्ता सकिने भएको छ।

यसर्थ, निर्वाचन आयोगले राष्ट्रिय परिचपत्रको विवरणका आधारमा पनि मतदाता सूचीमा नाम दर्ता गर्न थालेको छ।

अनलाइन फारम भर्न पाएपनि बायोमेट्रिकका लागि निर्वाचन कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्न थालेको हो।

प्राविधिक तयारी र परीक्षणका काम सकेर राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको निर्वाचन आयोगले जनाएको छ।

योसँगै, अब राष्ट्रिय परिचयपत्र नम्बरसहित अनलाइनबाट फाराम भरेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्नेछ।

यसले व्यक्ति स्वयं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ।

यस्तै, अहिले विदेशमा रहेकाहरूसँग पनि राष्ट्रिय परिचयपत्र छ भने मतदाता नामावलीमा सूचीकृत हुन पाउनेछन्।

फागुन २१ गतेको चुनावमा मताधिकार प्रयोग गर्नका लागि नाम दर्ता गराउने समयसीमा यही कात्तिक ३० गतेसम्म मात्रै रहेको छ।