
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये अझै ५ हजार, १३ जना फरार रहेका गृह मन्त्रालयले जनाएको छ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भागेका कैदीबन्दी बारेमा यस्तो जानकारी गराएका हुन्।
गृहमन्त्री अर्यालका अनुसार १४ हजार, ५५४ कैदीबन्दी भागेकामा ९ हजार, ४४१ जनालाई फिर्ता गरिएको छ।
फरार भएकाहरूको सूची सार्वजनिक गरेर खोजी भइरहेको गृहमन्त्री अर्यालले जनाए।
यस्तै, जेनजी आन्दोलनमा झन्डै १२ सय थान हतियार लुटिएकामा ७ सय, १८ थान फिर्ता गरेको गृहमन्त्री अर्यालले उल्लेख गरे।
आन्दोलनमा ४ सय, ६५ प्रहरी युनिटमा क्षति पुगेकोमा ४ सय ४८ प्रहरी युनिट संचालनमा आइसकेका छन्।
यसबीचमा ४ सय, २९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने आपराधिक गतिविधिमा संलग्न देखिएको भन्दै १ सय, ६८ जनामाथि मुद्दा लगाएको छ।
गृहमन्त्री अर्यालले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताएका छन्।
सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत अर्यालले बताए।