पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर

स्काउट र खड्का ल्याण्डबीच भएको भाडासम्बन्धी सम्झौता २०७५ साल मै समाप्त भइसकेको थियो

जनसम्मत
कार्तिक २७, २०८२, बिहीवार

काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ।

पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो।

खड्का ल्याण्डले स्काउटको ३ रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय संचालन गर्दै आएको थियो।

अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौता बमोजिमको भाडा नतिरेपछि खड्का ल्याण्डका भौतिक संरचनामा आज (विहीबार) विहान डोजर चलाइएको हो।

स्काउट र खड्का ल्याण्डबीच भएको भाडासम्बन्धी सम्झौता २०७५ साल मै समाप्त भइसकेको भए पनि खड्काले अटेर गरी व्यवसाय गर्दै आएका थिए।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटले जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचनासमेत निकालेको थियो।

म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन्।

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ।

त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाएको छ।