सरकार निर्देशन दिन्छ, ‘सामुदायिक विद्यालयको जग्गा–जमिनबारे विवरण पठाउ’

देशभर हाल ३५ हजार, ४४७ विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक रहेका छन्

जनसम्मत
कार्तिक २६, २०८२, बुधबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिएका हुन्।

यस्तै, केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ।

केन्द्रले गरेको सर्कुलरमा शिक्षा मन्त्रालयबाट सामुदायिक विद्यालय र सामुदायिक सिकाई केन्द्रहरूको जग्गासम्बन्धी विवरण माग भई आएकाले यथाशीघ्र उपलब्ध गराइदिन भनिएको छ।

शिक्षा मन्त्रालयले जिल्ला, पालिका, विद्यालयको नाम, जग्गाको क्षेत्रफल, भोगचलनको अवस्था, जग्गासम्बन्धी समस्या भएमा त्यसको विवरण खुलाएर पठाउन निर्देशन दिएको छ।

विद्यालयको जग्गा हिनामिना भएको गुनासो धेरै जिल्लाबाट आएकाले विवरण माग गरेको शिक्षामन्त्री महावीर पुनले बताए।

अहिले देशभर ३५ हजार, ४४७ विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक रहेका छन्।

यसअघि, शिक्षा मन्त्रालयले देशभरका निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको थियो।