‘प्रेस काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं’

संचारमन्त्री खरेल भन्छन्, ‘काउन्सिललाई थप प्रभावकारी बनाउन सहयोग गर्छौं’

जनसम्मत
असाेज २९, २०८२, बुधबार

संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपालको स्वयत्तताको सम्मान गर्ने बताएका छन्।

काउन्सिललाई थप प्रभावकारी बनाउन सरकार तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन्।

काउन्सिलमा बुधबार भएको स्वागत तथा स्थलगत भ्रमणका क्रममा उनले सरकार तोकिएको मितिमा निर्वाचन गराउन इमान्दार रहेको उल्लेख गरे।

उनले उल्लेख गरे, ‘निर्वाचनलाई प्रभावित बनाउने गरी कतिपय न्युज मिडिया र सोसल मिडियाबाट सम्प्रेषित हुने सामग्रीको तथ्य जाँच गरी काउन्सिलले गहिरोसँग अनुगमन गर्ने आफूहरुले अपेक्षा गरेका छौं।’

काउन्सिलको तत्काल बढाउन सकिने, साधन–स्रोत बढाउन, विनियमवली संशोधन तथा थप बजेटसम्बन्धी कार्यलाई अर्थ मन्त्रालयसँग समन्वय गरी मन्त्रिपरिषद्मा लैजान आफू तयार रहेको उनले स्पष्ट पारे।

मन्त्री खरेलले काउन्सिल मिडिया क्षेत्रको न्यायालय भएकोले अझै निष्पक्ष भएर अनुगमन गर्न सुझाव दिए।

कार्यक्रमको अध्यक्षता गरेका काउन्सिल सदस्य बालकृष्ण अधिकारीले काउन्सिलले सकृतापूर्वक अनुगमन गर्दै आएको बताए।

प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचनलाई समेत मध्यनजर गरी सदस्यहरूको नेतृत्वमा ३ जना ‘फोकल पर्सन’ बनाएर विशेष अनुगमन गर्न थालिएको उनले जानकारी दिए।

कार्यक्रममा काउन्सिलका सदस्यहरू नकुल अर्याल, पदमराज जोशी, भीमलाल श्रेष्ठ, विजयराज अधिकारी, शन्तराम बिडारीले काउन्सिलले यसअघि र जेन्जी आन्दोलनपछि पनि सकृय रूपमा भूमिका निर्वाह गरेको प्रष्ट पारे।

मन्त्रीलाई स्वागत गर्दै काउन्सिल सदस्य कुमारी निमा काफ्लेले काउन्सिल परम्परागत रूपमा नभई मिडिया क्षेत्रका सबै पक्षलाई हेर्नेगरी आधुनिक काउन्सिलका रूपमा उभिन चाहेकाले यस अभियानमा सहयोग गर्न मन्त्रीसमक्ष आग्रह गरिन्।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले काउन्सिललाई नीतिगत र प्रशासनिक रुपमा सहयोग गर्न मन्त्रालय तत्पर रहेको स्पष्ट पारिन्।

काउन्सिलका सदस्य–सचिव उदयबहादुर रानामगरले सहजीकरण गरेको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले हालसम्म गरेका प्रगति, समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यका लागि मन्त्रालयले गर्नुपर्ने विभिन्न सहयोगलगायतका विषयमा जानकारी गराए।

उक्त अवसरमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय, काम गर्दाका अप्ठ्यारा आदिबारेमा पनि जानकारी गराइएको थियो।