
एएफसी–१७ वर्षमुनिको एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ।
म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रंगशालामा शनिबार भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो।
सिरियाले पहिलो हाफको सुरुआती १४ मिनेटभित्र ३–० को अग्रता बनाएको थियो।
सिरियाका लागि अल हरिरी, अलाली अल्जासेम र ओडे अल्फासटाकीले गोल गरेका थिए।
त्यसपछि, नेपालका स्ट्राइकर निस कुमारले ५३ औं र ६९ औं मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए।
तर, निर्धारित समय सकिन २ मिनेट बाँकी छँदा अहमद अल्फराजले पेनाल्टीमार्फत गोल गरेपछि सिरियाले आफ्नो पक्षमा जीत सुनिश्चित पार्यो।
जीतसँगै, सिरियाले प्रतियोगितामा ३ अंक बटुल्यो।
समूह ‘जी’ मा रहेको नेपालले भोलि (आइतबार) ओमानसँग खेल्नेछ।
त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ।
समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एसियन कपका लागि छनोट हुनेछ।