३४ औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला मंसीर १७ गतेदेखि

मेलासँगै १३ औँ संस्करणको क्यान इन्फोटेक पनि संचालन हुँदैछ

जनसम्मत
मंसिर ९, २०८२, मंगलवार

३४ औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला यही मंसीर १७ देखि २१ गतेसम्म हुँदैछ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३४ औँ राष्ट्रिय संस्करणको औद्योगिक व्यापार मेलासँगै १३ औँ संस्करणको क्यान इन्फोटेक पनि संचालन हुने मंगलबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।

‘लगानीको सम्बर्द्धन: उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित आयोजना गरिएको उक्त मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुनेछ।

संघका अध्यक्ष गोकर्ण कार्कीले गण्डकी प्रदेशमा व्यावासयिक सम्भावनाको खोजी तथा उद्यमशीलता प्रवर्द्धनको उद्देश्यले मेला आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए।

‘पोखरालगायत गण्डकी प्रदेशकै औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो’, अध्यक्ष कार्कीले भने।

मेलामा १ सय २० व्यावसायिक ‘स्टल’ रहने अध्यक्ष कार्कीले जनाए।

‘जेनजी’ प्रदर्शनपछि गिरेको निजी क्षेत्रको मनोबल उकास्न यस्ता मेला–महोत्सवले मद्दत पुग्ने र आर्थिक गतिविधि पनि बढ्ने कार्कीको भनाई छ।

मेलामा औद्योगिक उत्पादन, सूचना–प्रविधिका सामान, हस्तकला, कृषिजन्य उत्पादनलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहने जनाइएको छ।

मेलामा उद्यमशीलता प्रवर्द्धन, लगानीमैत्री नीति, नवप्रर्वतन, सूचना–प्रविधि र कृषिसँग सम्बन्धित विषयमा परिसंवाद कार्यक्रम पनि संचालन गरिनेछ।

मेलामा दर्शकको आकर्षण बढाउन परम्परागत एवं मौलिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष कार्कीले बताए।

कम्युटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की शाखाका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामा सूचना–प्रविधिसँग सम्बन्धित हार्डवेयर र सफ्टवेयर उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष रहने जानकारी दिए।

‘केही नयाँ प्रडक्ट लन्चसमेत गर्ने तयारीमा छौँ, आइसीटीसम्बन्धी अन्तरक्रिया, करिअर काउन्सिलिङलगायतका कार्यक्रम मेलामा हुनेछन्’, कुँवरले भने।

मेलाबाट ५० लाख आम्दानी हुने र ४५ लाख खर्च हुने आयोजकको अनुमान छ।

मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायीको क्षमता अभिवृद्धिमा खर्च हुने जनाएको छ।

मेलामा प्रवेश नि:शुल्क हुनेछ।

मेला सफल पार्न मणिपाल अस्पतालसँग सहकार्य गरिएको संघले जनाएको छ।

कम्युटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश मेलाको सह–आयोजक रहनेछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड मेलाको प्रवर्द्धकको भूमिकामा रहनेछ।

संघले विसं २०४२ मा पहिलोपटक पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो।