पोखरामा छैटौं संस्करणको य:मरी महोत्सव सुरु

महोत्सव अवसरमा नालामुख संरक्षणको सन्देश सहितको प्रभात-फेरी र्‍याली

जनसम्मत
मंसिर १३, २०८२, शनिबार

पोखरा–४ गणेशटोलमा छैटौं संस्करणको य:मरी महोत्सव सुरु भएको छ।

नेवारी संस्कृति र सभ्यताअनुसार शनिबार य:मरी पूर्णिमाको अवसरमा य:मरी महोत्सव गएिको हो।

पोखरा महानगरपालिका वडा नं. ४ को आयोजनामा तथा नेवा: मिसा पुच: कास्कीको समन्वयमा य:मरी महोत्सवको आयोजना गरिएको हो।

पोखराका मेयर धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक खेलकुदको केन्द्रको रुपमा रहेकोले यस्ता मेला महोत्सवले पर्यटन प्रवर्द्धन हुने उल्लेख गरे।

मेयर आचार्यले पोखराको नालामुख क्षेत्रलाई ऐतिहासिक सम्पदा क्षेत्रका रूपमा विकास गर्ने विशेष योजना अघि बढाइएको बताए।

मेयर आचार्यले भने, ‘पोखराको नालामुख क्षेत्र पुराना घर तथा ऐतिहासिक बस्तीहरुको जीवित संग्रहालय हो। यसलाई संरक्षण गरी पोखराको हेरिटेजका रूपमा विकास गर्छौं। सबै जातजाति, भाषा तथा संस्कृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।’

एडीबीसँग नालामुख क्षेत्रको पुराना घर सहितको बस्ती संरक्षणमा बिषेश कार्ययोजना संचालनको तयारी भएको मेयर आचार्यको भनाई थियो।

नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले पोखराको वडा नं ४ नेवारी समुदायको पहिचानसँग जोडिएको कला र संस्कृतिले धनी वडा भएको बताए।

पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले वडाले कला, संस्कृति र पुरातात्विक बस्ती संरक्षणलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको दाबी गरे।

वडाभित्र भौतिक निर्माणसँगै मौलिक कला र संस्कृतिको संरक्षणमा पनि वडाले उत्तिकै महत्वपूर्ण दिएको वडाध्यक्ष पराजुलीको भनाई थियो।
महोत्सवमा य:मरी बनाउने प्रतियोगिता, लाईभ डेमो, य:मरी प्रदर्शनी तथा विभिन्न नेवारी परिकारहरू बिक्रिमा राखिएको नेवा: मिसा पुच: कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी गराइन्।

य:मरीका साथै नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारका स्टलहरू छन्।

महोत्सवको उद्घाटनअघि नालामुख संरक्षणको सन्देश सहितको प्रभात-फेरी र्‍याली गरिएको थियो।

प्रभात-फेरी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै गणेशटोल पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो।