
पोखरामा हुने औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
यही मंसीर १७ गतेबाट हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ को तयारी अन्तिम चरणमा पुगेको सोमबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।
आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पत्रकार सम्मेलनमार्फत मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
कार्कीका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नेछन्।
अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुन: पुरानै अवस्थामा फर्काउन, उद्योगी/व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्नु मेलाको उद्देश्य रहेको बताए।
उनले मेला आयोजना स्थल अर्थात् प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भएपनि संघको उत्साहमा कुनै कमी नभएको उल्लेख गरे।
मेला ‘लगानीको सम्वर्द्धन र उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्ने कार्कीले प्रष्ट पारे।
‘मंसीर १७ देखि २१ गतेसम्म आयोजना हुने मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरु रहनेछन्, ’अध्यक्ष कार्कीले भने, ‘उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत पैरवी गर्नेगरी हामीले मेलास्थलमै कृषि, पर्यटन, सरकारले अगाडि ल्याएका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम पनि संचालन गर्दैछौँ।’
२०४२ सालदेखिको मेला आयोजनाको परम्परालाई निरन्तरता दिने क्रममा यो पटक हामीसँग पोखरामै रहेको नेपाल मणिपाल अस्पताल सहयोगीको रुपमा जोडिएको तथ्य अध्यक्ष कार्कीले पेश गरे।
पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ र पोखरा स्वास्थ्य पर्यटनको केन्द्र अनि स्वास्थ्य लाभ गर्न चाहनेको गन्तव्य बन्न सक्छ भन्ने प्रमाणित भएको पनि कार्कीको जिकिर थियो।
संघका महासचिव शोभा गौतमले कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान) कास्की मेलाको सह-आयोजक बनेको बताइन्।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव बन्ने उल्लेख गरिन्।
मेलाको अवसरमा यस क्षेत्रमा मौलिक संंस्कृति प्रदर्शन गर्ने जानकारी दिइन्।
नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको गण्डकी प्रदेश संरक्षक रहेको मेलामा पोखरा महानगरपालिका मुख्य प्रवर्द्धक रहेको छ।
त्यस्तै, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकको भूमिकामा रहनेछन्।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य एवं नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सह–कार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गरे।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् नयाँ युगको आवश्यकता संवोधनका लागि प्रयत्न गर्ने बताए।
उनले मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादनहरु प्रदर्शनीमा राखिने जानकारी पनि दिए।