
पोखरामा आज (बुधबार) देखि ३४ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ।
साथमा, १३ औँ संस्करणको क्यान इन्फोटेक–२०८२’ सुरु भएको छ।
नेपाल मणिपाल शिक्षण अस्पतालको सहकार्यमा पोखरा–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला सुरु भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका हुन्।
मेला मंसिर २१ गतेसम्म चल्नेछ।
प्रमुख अतिथि ढकालले नेपालमा केही पनि छैन, केही गर्न सकिदैन, अवसरहरु छैन भन्ने भाष्य निर्माण गरिएकोमा यसलाई चिर्न महासंघको अगुवाइमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी (एनडीपी) स्थापना गरिएको उल्लेख गरे।
नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीहरूमा लगानी गर्ने लक्ष्यका साथ १० अर्ब लगानीमा एनडीपी स्थापना गरि सोमार्फत कामहरू अगाडि बढाइएको ढकालले स्पष्ट पारे।
अध्यक्ष ढकालले पोखरासहित समग्र गण्डकी प्रदेशको प्रमुख अर्थतन्त्रको रुपमा पर्यटन क्षेत्र रहेको बताए।
उनले भने, ‘पर्यटन र व्यवसाय प्रवर्द्धनका लागि मुस्ताङको कोरोला नाका हुँदै धार्मिक स्थल मानसरोवर जाने बाटो खोल्नेबारे पहल गरिएको छ। निजी क्षेत्रकै पहलमा उपल्लो मुस्ताङ जाने पर्यटकहरुलाई लाग्ने ५ सय डलर शुल्क घटाएर ५० डलर लिने व्यवस्था मिलाउन सफल भएका छौं।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गएको भदौ २४ गते जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले उद्योगी व्यवसायीसँगै लगानी गर्न चाहने नयाँ पुस्तालाई समेत निरुत्साहित बनाएको उल्लेख गरे।
‘देश बन्छ र बनाउनुपर्छ भन्ने विश्वासका साथ अझैपनि लगानी गर्न निजी क्षेत्र तयार रहेकोले त्यसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ’, कार्कीले जोड दिए, ‘सुशिला कार्की नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि केही रचनात्मक कामको थालनी गरेको तर यसमा सबै पक्षले उत्तिकै सकरात्मकताका साथ प्रयास गर्नुपर्छ।’
निजी क्षेत्रले पनि शान्तिपूर्ण र स्वच्छ तवरले निर्वाचन होस् भन्ने चाहेको र सोहीअनुसार चुनावी वातावरण निर्माणको लागि निजी क्षेत्र सरकारको साथमा रहेको कार्कीले स्पष्ट पारे।
उनले जनताको मतमार्फत आफूलाई प्रमाणित गर्ने अवसरको उपयोग गर्न राजनीतिक दलहरुलाई आग्रहसमेत गरे।
चुनावको नाममा देशको अर्थतन्त्र खलबलाउने, चुनावी आन्दोलन र कार्यक्रमको नाममा निजी क्षेत्रलाई दु:ख दिने काम सह्य नहुने उनको तर्क छ।
नेपालबाट बार्षिक ५ लाख युवा पलायन भईरहेको कार्कीले बताए।
युवाशक्तिलाई देशमै रोक्न सरकार चुकेको अध्यक्ष कार्कीको दाबी छ।
सूशासन कायम गर्न नसकेकै कारण भदौ २३ गते जेन जी प्रदर्शन भएको उनले आरोप लगाए।
‘लगानीको संवर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नारासहित आयोजित मेलामा सूचना–प्रविधिदेखि हस्तकलासम्मका सामाग्रीहरु राखिएको पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले उल्लेख गरिन्।
महोत्सव अवधिभर लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका मौलिक वस्तुहरूको प्रदर्शनी, महिला उद्यमीहरूको विशेष प्याभिलियन, प्राङ्गरिक कृषि उपजको छुट्टै प्रदर्शन, उपयुक्त तथा नविन प्रविधिहरूको प्रदर्शनी, अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पादन भएका औद्योगिक सामग्रीहरूको प्रदर्शन, विकास साझेदार संस्थाहरूका उपलब्धी तथा परियोजनाहरूको प्रदर्शन, बैंक तथा वित्तीय संस्था तथा व्यावसायिक विकास सेवा प्रदायकहरूको सहभागिता रहनेछ।
साथमा नेपालको विविधता झल्काउने आकर्षक सांस्कृतिक कार्यक्रमहरुसमेत हुने मेला आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ।