पोखराको बगर टुँडिखेलमा ‘तमु ल्होछार महोत्सव’ हुँदै

महोत्सवमा शुभकामना र्‍याली झाँकीसहित भलिबल, लोकनृत्य, छेलो र भेषभूषा/भाषा प्रतियोगिताको आयोजना गरिदैं

जनसम्मत
मंसिर २१, २०८२, आइतबार

तमु समुदायले पोखरामा विविध कार्यक्रम गरी पहिलो पटक ‘तमु ल्होछार महोत्सव’ गर्दैछ।

आगामी पुसको १४ देखि १६ गतेसम्म पोखराको बगरस्थित टुँडिखेलमा तमु धिं नेपालले महोत्सवको आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

तमु ल्होछार महोत्सवमा परम्परागत मौलिक, साँस्कृतिक, खेलकुदका कार्यक्रमहरु गरिने महोत्सव मूल आयोजक समिति संयोजक हुमबहादुर गुरुङले बताए।

तमु धिं नेपालका अध्यक्ष समेत रहेका गुरुङले महोत्सवमार्फत राष्ट्रियतामा सुदृढ, सद्भाव एवं एकतालाई बलियो बनाउने र पर्यटन प्रवर्द्धनका साथै व्यवसायिक अभिवृद्धिका लागि सहयोग पुग्ने दाबी गरे।

संयोजक गुरुङका अनुसार, ल्होछार महोत्सवमा शुभकामना र्‍याली एवं झाँकी प्रतियोगिता, सामूहिक खुल्ला लोकनृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता, तमु बाबुनानीहरुको भेषभूषा तथा भाषा प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक प्रस्तुतीहरु, खेल्ला छेलो प्रतियोगिता, लोकदोहोरी कन्सर्टका कार्यक्रम हुनेछन्।

साथै, मे त्हे गुरु खेगीहरुबाट आशिर्वाद ग्रहण र विविध साँस्कृतिक प्रस्तुतहिरु र स्टलहरु रहनेछन्।

महोत्सवमा तमुहरुको मौतिक तथा साँस्कृतिक सामग्री प्रदर्र्शनीलगायत खानाका २६ स्टलहरु रहने संयोजक गुरुङले उल्लेख गरे।

भलिबल प्रतियोगितामा उत्कृष्ट ५ टिमलाई प्रतिस्पर्धा गराइने खेल संयोजक लामा अमृत गुरुङले बताए।

राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुर्‍याउन साथै भलिबलका प्रतिभाहरुलाई व्यवसायिक खेलाडी बनाउन र भलिबल खेललाई चलायमान बनाउन महोत्सवमा भलिबल कप प्रतियोगिता राखिएको गुरुङले उल्लेख गरे।

संयोजक गुरुङका अनुसार भलिबल प्रतियोगिताका विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार, सेमिफाइनलिस्ट २ टिमले समान २५ हजार र अन्तिम पाँचौं स्थानमा आउने टिमले १० हजार नगद पाउनेछन्।

भलिबल प्रतियोगिताका लागि पुसको १२ गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ता शूल्क ५ हजार रुपैयाँ लाग्ने आयोजकले बताएको छ।

सामूहिक लोकनृत्य प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार, दोस्रो पुरस्कार ५० हजार, तेस्रो २५ हजार र चौथोले १५ हजार नगद पुरस्कार जित्नेछ।

लोकनृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने समूहले पुसको १२ गतेसम्म दर्ता गर्न सकिने र दर्ता शुल्क ३ हजार रुपैयाँ लाग्ने आयोजकले बताएको छ।

झाँकी प्रतियोगितामा प्रथमले ६० हजार, दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार र सान्त्वना ४ समूहले समान ५ हजार नगद पुरस्कार जित्नेछन्।

खुल्ला छेलो प्रतियोगितामा प्रथमले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार जित्नेछ।

छेलो प्रतियोगिताका लागि ईच्छुकले पुसको १६ गते दिउँसो १ बजेसम्म दर्ता गर्न सकिने र दर्ता शुल्क ५ सय रुपैयाँ लाग्नेछ।

गुरुङ भेषभूषा तथा भाषा प्रतियोगितामा प्रथमले ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार र चौथोले १ हजार नगद पुरस्कार जित्नेछ।

पुसको १२ गतेसम्म १ सय रुपैया ँतिरेर यस प्रतियोगिताका लागि नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ।

महोत्सवको तयारीका लागि तमुधिं नेपालका अध्यक्ष गुरुङको संयोजकत्वमा २०१ सदस्यीय तमु ल्होछार महोत्सव मूल आयोजक समिति गठन गरेको छ।

तमु समुदायको धर्म, संस्कृतिअनुसार यस वर्ष सप्री ल्हो (सर्प वर्ग) को विदाई र त ल्हो (घोडा वर्ग) को आगमन हुँदैछ।

 

.