
पत्रकार भरत कोइराला निट पत्रकारिता पुरस्कारबाट सम्मानीत हुँदैछन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशद्वारा संचालित पहिलो यो पुरस्कारबाट पत्रकार कोइराला सम्मानीत हुनेछन्।
पोखरा महेन्द्रपुलमा संचालनमा रहेको निट डेण्टल केयर प्रालिले यो पुरस्कार स्थापना गरेको हो।
फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका हो।
छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मिना थापामगर र महासचिव सुरज थापामगर थिए।
डेण्टलको तेस्रो वार्षिकोत्सवको अवसरमा एक समारोहका बिच मंसिर २६ गते पुरस्कार अर्पण गरिने कार्यक्रम छ।
पुरस्कार राशि नगद २५ हजार ५५५ रुपैयाँ छ।
पुरस्कारका लागि डेण्टलले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ।
सम्मानीत हुन लागेका पत्रकार कोइराला समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक हुन्।
स्याङ्जा, पुतलीबजार–१३ स्थायी घर भएका पत्रकार कोइरालाले २०५९ वैशाख १ गते काठमाडौँमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका हुन्।
यसअघि, २०६५ सालमा पोखरा रहेर उनले अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’ र ‘अन्नपूर्ण पोस्ट’ को ब्युरो–चिफको जिम्मेवारीमा थिए।
२ दशक अघिदेखि पत्रकारितामा निरन्तर कलम चलाइरहेका पत्रकार कोइरालासँग यसअघि समाधान दैनिककै कार्यकारी सम्पादक र आदर्श समाज दैनिकको सम्पादक भई काम गरेको अनुभव छ।