‘डिजिटल क्रान्ति’ ले किशोर-किशोरीहरुमा समस्या बढायो

अध्ययन भन्छ, बढि ध्यान विकेन्द्रीकृतको समस्या, सामाजिक सञ्जाल जिम्मेवार

जनसम्मत
मंसिर २४, २०८२, बुधबार

‘डिजिटल क्रान्ति’ योजनाविहीन प्रयोग बनिसकेको छ।

यसको सिकार सबैभन्दा बढी किशोर-किशोरीहरुमा देखिएको छ।

विश्वभरि ‘अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर’ (एडीएचडी) को समस्या बढ्दै जाँदा, डिजिटल उपकरणको बढ्दो प्रयोगले यसमा भूमिका खेलेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ।

यसको कारण पत्ता लगाउन अनुसन्धानकर्ताले १० देखि १४ वर्ष उमेर समूहका ८ हजारभन्दा बढी किशोर-किशोरीहरुको अध्ययन गरेका छन्।

अनुसन्धानकर्ताले उनीहरूलाई आफ्ना डिजिटल बानीबारे सोधेका थिए।

ती बानीलाई गेमिङ, टीभी/भिडियो र सामाजिक सञ्जाल गरी ३ श्रेणीमा विभाजन गरेका थिए।

सामाजिक सञ्जालमा टिकटक, इन्स्टाग्राम, स्न्याप च्याट, एक्स, मेसेन्जर र फेसबुकजस्ता एप समावेश गरिएको थियो।

त्यसपछि, उनीहरूले एडीएचडीका २ मुख्य लक्षण, असावधानी र अति सक्रियतामा दीर्घकालीन परिवर्तनसँग यी प्रयोगको सम्बन्ध छ कि छैन भन्ने विश्लेषण गरेका थिए।

अध्ययनबाट उनीको मुख्य निष्कर्ष थियो, सामाजिक सञ्जालको प्रयोग असावधानीको क्रमिक वृद्धिसँग जोडिएको थियो।

गेमिङ वा भिडियो हेर्नुसँग त्यस्तो सम्बन्ध देखिएन।

किशोर-किशोरीको एडीएचडीको आनुवंशिक जोखिम तथा उनीहरूका परिवारको आयलाई पनि ध्यानमा राख्दासमेत यी प्रवृत्ति यथावत् रह्यो।

असावधानीले किशोर-किशोरीलाई बढी सामाजिक सञ्जाल प्रयोग गर्न प्रेरित गर्छ कि गर्दैन भनेर पनि अनुसन्धानकर्ताले परीक्षण गरेका थिए।

तर, त्यस्तो केही देखिएन।

डिजिटल मिडियाले ध्यानमा कसरी असर गर्छ भन्ने प्रक्रिया अझै स्पष्ट छैन।

तर, अन्य स्क्रीन गतिविधिको नकारात्मक प्रभाव नदेखिएकाले स्क्रीनको सामान्य नकारात्मक असर वा सबै डिजिटल मिडियाले ‘डोपामिन हिट’ उत्पन्न गरी त्यसले किशोर–किशोरीको ध्यान बिगार्छ भन्ने धारणालाई उनीहरूले अस्वीकार गरेका छन्।

उनीहरूका अनुसार सामाजिक सञ्जालले निरन्तर विचलन सिर्जना गर्छ।

यस्तो विचलनले ध्यान केन्द्रीत गर्न बाधा पुर्‍याउँछ।

अर्कातर्फ, गेमिङ सीमित समयमा हुने हुनाले एकैपटकमा एउटा काम निरन्तर ध्यान केन्द्रीत गर्नुपर्ने हुन्छ।

संख्यात्मक रूपमा हेर्दा सामाजिक सञ्जालको असर धेरै ठूलो छैन।

यसले सामान्य ध्यान भएको व्यक्तिलाई सीधै एडीएचडीको श्रेणीमा पुर्‍याउने खालको प्रभाव देखाएन।

तर, यस्तो असावधानी सबैमा बढ्दै गयो भने धेरै मानिसले निदानको सीमा पार गर्न सक्छन् भन्ने निष्कर्ष निकालिएको छ।

सैद्धान्तिक रूपमा, सबै किशोर–किशोरीमा सामाजिक सञ्जालको प्रयोग दैनिक १ घण्टा बढेमा एडीएचडी समस्या करिब ३० प्रतिशतले बढ्न सक्ने देखिन्छ।

यद्यपि, निदान धेरै कारकमा निर्भर रहन्छ।

तर, व्यक्तिगतस्तरमा सानो देखिने असरले पनि समग्र किशोर-किशोरीमा ठूलो प्रभाव पार्न सक्ने देखाउँछ।

धेरै तथ्यांकले पछिल्लो एक वा दुई दशकमा सामाजिक सञ्जालको प्रयोग दैनिक कम्तीमा १ घण्टा बढेको देखाउँछन्।

दुई दशकअघि सामाजिक सञ्जाल मुस्किलले अस्तित्वमा थियो।

अहिले भने किशोर-किशोरीहरू दैनिक करिब ५ घण्टा सामाजिक सञ्जालमै बिताउँछन्।

सन् २०१५ मा ‘निरन्तर अनलाइन’ रहेको दाबी गर्ने किशोर-किशोरीको २४ प्रतिशत थिए।

सन् २०२३ मा पुग्दा बढेर ४६ प्रतिशत पुगेको छ।

सामाजिक सञ्जालको प्रयोग शून्यबाट बढेर दैनिक करिब ५ घण्टासम्म पुग्दा यसले विगत १५ वर्षमा एडीएचडी निदानमा भएको वृद्धिको व्याख्या गर्न सक्छ।

केहीले एडीएचडी भएका व्यक्तिहरूको संख्या बढ्नुको कारण बढ्दो जागरुकता र घट्दो सामाजिक ‘कलंक’ लाई मान्छन्।

यो आंशिक रूपमा सही हुन सक्छ।

तर, यसले असावधानीमा भएको वास्तविक वृद्धिलाई अस्वीकार गर्दैन।

त्यस्तै, केही अध्ययनले असावधानीका लक्षण नबढेको दाबी गरेका छन्।

तर, ती अध्ययन प्राय: स्मार्टफोन प्रयोग गर्न अझै साना उमेरका किशोर-किशोरीमा वा स्क्रोलिङ संस्कृति व्यापक बन्नुअघि गरिएको समयावधिमा आधारित छन्।

सामाजिक सञ्जालले असावधानी बढाउँछ र यसको प्रयोग पनि तीव्र गतिमा फैलिएको छ।

अमेरिकामा धेरै सामाजिक प्लेटफर्ममा खाता खोल्न कम्तीमा १३ वर्षको हुनुपर्ने नियम छ।

तर, यस्ता खालका प्रतिबन्ध छल्न सजिलो छ।

यस मामिलामा अस्ट्रेलिया सबैभन्दा अगाडि देखिन्छ।

बुधबार (१० डिसेम्बर, २०२५) देखि मिडिया कम्पनीले प्रयोगकर्ता १६ वर्ष वा सोभन्दा माथिका छन् भन्ने सुनिश्चित गर्नुपर्नेछ।

अन्यथा, नियम उल्लंघन नगर्ने कम्पनीले ठूलो जरिवाना तिर्नुपर्नेछ।

अब हेर्न बाँकी छ, यो कानुनले कस्तो प्रभाव पार्छ ?

सम्भवत: विश्वका अन्य देशले पनि अस्ट्रेलियाको बाटो पछ्याउनुपर्ने अवस्था आउन सक्छ।