पत्रकार भरत कोइरालालाई ‘निट पत्रकारिता पुरस्कार’ प्रदान

पुरस्कृत कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक छन्

जनसम्मत
मंसिर २६, २०८२, शुक्रबार

पोखराका पत्रकार भरत कोइरालालाई ‘निट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले संचालन गरेको यो पहिलो पुरस्कारबाट पत्रकार कोइरालालाई पुरस्कृत गरिएको हो।

पोखराको महेन्द्रपुलस्थित निट डेण्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सव अवसरमा शुक्रबार पोखरामा एक समारोहबीच फोनिज गण्डकीले पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेको हो।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकार कोइरालालाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।

फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठन गरेको प्रतिभा छनोट समितिको बैठकले पत्रकार कोइरालालाई पहिलो पुरस्कार दिने निर्णय गरेको थियो।

प्रतिभा छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापामगर र महासचिव सुरज थापामगर थिए।

फोनिज गण्डकीले संचालन गर्नेगरी कम्पनीले पत्रकारिता पुरस्कारका लागि गत साता ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो।

उक्त पुरस्कार वार्षिकरुपमा प्रदान गरिने फोनिज गण्डकी उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले जनाएका छन्।

स्याङ्जा पुतलीबजारका कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक छन्।

दुई दशक अघिदेखि पत्रकारितामा निरन्तर कलम चलाइरहेका पत्रकार कोइरालासँग यसअघि, समाधान दैनिककै कार्यकारी सम्पादक र आदर्श समाज दैनिकको सम्पादक भई काम गरेको अनुभव छ।

२०५९ सालदेखि काठमाडौंमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरुवात गरेका उनी २०६५ देखि पोखरामा क्रियाशील छन्।

पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर उनले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता अध्यापन गराउँछन्।

यसअघि, उनी पोखरा आर्थिक पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार र रोयल पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।

कार्यक्रममा पुरस्कृत पत्रकार कोइराला, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, प्रतिभा छनोट समित संयोजक एमबी आस्थामागर, निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) लगायतले बोलेका थिए।

फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष सुमन र संचालन महासचिव सुरज थापामगरले गरेका थिए।

सो अवसरमा निट डेण्टलले कम्पनीमा कार्यरत् चिकित्सकसहित कर्मचारीहरुलाई प्रशंसापत्रसहित सम्मान गरेको थियो।

पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनस्थित निट डेन्टल केयर प्रालि ३ वर्ष अघिदेखि संचालनमा छ।

तस्बीर: सुदर्शन रञ्जित