पोखरा महानगरले आफ्नो ६७ औं स्थापना दिवस मनाउँदै

‘पोखरेली नवरत्न’ सम्मानसहित ९ जनालाई पुरस्कार प्रदान गरिने

जनसम्मत
मंसिर २६, २०८२, शुक्रबार

पोखरा महानगरले विविध कार्यक्रमसहित आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ।

मेयर मेयर धनराज आचार्यले शु्क्रबार पत्रकार सम्मेलनमार्फत महानगरले ६७ औं स्थापना दिवस मनाउन लागेको जानकारी गराए।

स्थापना दिवसमा पोखरालाई महत्वपूर्ण योगदान गरेको एक विशिष्ट व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ को सम्मान प्रदान गरिने मेयरले बनाए।

यस वर्ष भाषा–साहित्य, कला–संगीत, शिक्षा, स्वास्थ्य, कृषि–उद्यम, सामाजिक सेवा, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, विज्ञान तथा नवप्रवर्तनलगायतका क्षेत्रबाट चयन भएका ९ जनालाई ताम्रपत्र, दोसल्ला, पदकसहित जनही २ लाख २ हजार २०२ रुपैयाँ राशिसहित सम्मान गरिने मेयर आचार्यले उल्लेख गरे।

स्थापना दिवसकै अवसरमा महानगरमा कार्यरत् ११ जना उत्कृष्ट कर्मचारी, एसइई तथा कक्षा ८ मा ४ जिपिए अंक प्राप्त गरेका विद्यार्थी, विषयगत रूपमा उत्कृष्ट उपलब्धी हासिल गर्ने ६० जना शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गर्ने कार्यक्रम छ।

३३ वटा वडामध्ये सरसफाईमा उत्कृष्ट ३ वडालाई, महानगर मातहतका कार्यालयमध्ये सरसफाईमा उत्कृष्ट एक कार्यालयलाई र समयमै सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदातालाई पनि पदक र सम्मानपत्र प्रदान गर्ने कार्यक्रम छ।

स्थापना दिवसमै रक्तदान कार्यक्रम, कृषि स्वीच कार्यक्रम, सरसफाई अभियान, सारङ्गीपार्क निर्माणका लागि शिलान्यास, मानवअधिकारचोकदेखि सभागृहसम्म सांस्कृतिक झाँकीसहितको प्रभातफेरीका कार्यक्रम हुनेछन्।

त्यसैगरी, ज्येष्ठ नागरिक सम्मान तथा मानव सेवा आश्रममा न्यानो कपडा वितरण जस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिका कार्यक्रमसमेत हुनेछन्।

मूल समारोह आगामी पुष २ गते पोखरा सभागृहमा आयोजना हुने महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले बताए।

वि.सं. २०१६ मा स्थापना भएको पोखरा नगरपालिका क्रमिक विकासका चरण पार गर्दै २०७५ साउन २३ गते पोखरा महानगरपालिका नामाकरण भएको हो।

करिब ४६४ वर्ग किमी क्षेत्रफलमा फैलिएको पोखरा भौगोलिक हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा परिचित छ।

४० भन्दा बढी जातजातिको बसोबास, मौलिक संस्कृति, ताल–तलैया, धार्मिकस्थल तथा हिमश्रृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिने विशेषताले पोखरा पर्यटन राजधानीको रूपमा परिचित छ।