
सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा सोमबारदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु भएका छन्।
‘पोखरा भ्रमण वर्ष–२०२५’ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न ‘पोखरा भ्रमण वर्ष–२०२५’, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रवर्द्धन सुरु गरिएको हो।
भारतीय टुर अपरेटर र मिडियाकर्मीको टोलीललाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले सोमबार सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवनको सौराहा ल्याइएको हो।
भारतीय टोलीलाई होटेल संघ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिए।
अन्तरक्रियामा होटेल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुंगाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृतलगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावनालगायतका विषयमा बोलेका थिए।
उक्त अवसरमा सौराहाको प्रवर्द्धनात्मक भिडियोसमेत प्रस्तुत गरिएको थियो।
महासचिव सापकोटाका अनुुसार भारतीय प्रवर्द्धनात्मक टोली भोलि पुस १ गते तनहुँको बन्दीपुर हुँदै बेगनास र पुस २ गते पर्वत र बाग्लुुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मिटमा सहभागी बन्नेछ।
टोली ४ गते पोखराबाट पाल्पा हुँदै सुनौली नाकाबाट भारत फर्कने सापकोटाले जानकारी दिए।