
पोखरा महानगरले साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठलगायतका ९ विशिष्ट व्यक्तित्वहरुलाई ‘पोखरा नवरत्न’ को सम्मान प्रदान गरेको छ।
महानगरको आफ्नो ६७ औं वार्षिकोत्सवको अवसरमा पोखरालाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई ‘पोखरा नवरत्न’ बाट सम्मान गरेको हो।
यसरि, ‘पोखरा नवरत्न’ को सम्मान पाउने विशिष्ट व्यक्तिहरुमा महिला उद्यमी रामकली खड्कादेखि गायक अमृत गुरुङलगायत छन्।
उनीहरुलाई नगद २ लाख २ हजार २ सय २ सहित पदक, ताम्रपत्र र दोषल्ला ओढाएर ‘पोखरा नवरत्न’ सम्मानबाट सम्मानित गरिएको हो।
जसमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशीलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा.बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानीत भए।
उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्मान गरे।
योसँगै, पोखरा महानगरले बुधबारदेखि आफ्नो ६७ औं स्थापना दिवस मनाउन सुरु गरेको छ।
महानगरले नगरपालिका स्थापना भएको पुस २ गतेलाई मानेर बुधबार विविध कार्यक्रमसहित स्थापना दिवस मनाउन सुरु गरेको हो।
दिवसको अवसरमा विहान प्रभातफेरी निकालियो।
पोखराको मानवअधिकार चोकबाट सुरु गरिएको जातीय पहिचानसहितको सांस्कृतिक झाँकीसहितको र्याली न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो।