पोखरामा १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप पुसको ९ गतेदेखि

४ सय ४ पदकका लागि प्रतिष्पर्धा हुने, तयारी अन्तिम चरणमा

जनसम्मत
पौष ७, २०८२, सोमबार

पोखरामा पुसको ९ गतेदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुँदैछ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

जसअनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउन २ महिनादेखि तयारी गरिएको बताए।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पोखरा महानगरपालिकामा रहेका झण्डै २ सय ६० विद्यालयमध्ये १ सय ८० भन्दा बढी विद्यालयको विभिन्न खेलमा सहभागिता रहने उल्लेख गरे।

पुस ११ गतेसम्म चल्ने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा विधामा प्रतिस्पर्धा हुने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए।

जसअनुसार भलिबलमा छात्रतर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी हुनेछन्।

कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी बन्ने निश्चित भएको छ।

एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिस्पर्धा गर्नेछन्।

कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिस्पर्धा गर्नेछन्।

तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाउनेछन्।

उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिस्पर्धा गर्नेछन्।

मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी बन्ने सदस्य सचिव अधिकारीले खुलाए।

एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधामध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ।

परिवर्तित नियमलगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिकालाई पालना गर्न पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ।

भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वीतियले २० हजार र तृतीयले १२ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउनेछन्।

एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वीतियले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वीतियले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्ने अध्यक्ष गोदारले जानकारी दिए।

यसैगरी। मार्चपासमा प्रथम टिमले २० हजार, द्वीतियले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन्।
अन्य विधाका खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जनाए।

प्रतियोगिताको उद्घाटन पोखरा रंशालामा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नेछन्।

उद्घाटन समारोहमा मार्च पास, साँस्र्कतिक कार्यक्रम र तेक्वान्दो डेमोस्न्ट्रेसन समेत हुनेछ।