
पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा हरेक वर्ष आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस पटक पनि भव्य रूपमा संचालन हुँदैछ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा लेकसाइडस्थितका सडकहरु एक पटक फेरि उत्सवमय बन्ने भएको छ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औँ संस्करणको महोत्सव आइतबारदेखि पुस १७ गतेसम्म चल्नेछ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा लेकसाइडको खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा सडकलाई नै उत्सवस्थल बनाइनेछ।
यस अवधिमा सडक किनारमै विविध परिकार पाक्ने, संस्कृति झल्किने कार्यक्रम हुने र पर्यटक तथा स्थानीयको जमघट लाग्नेछ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार अभिवृद्धि र सहरको ब्रान्डिङमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
“महोत्सव अब पोखराको संस्कृतिजस्तै बनिसकेको छ, यसले अर्थतन्त्र चलायमान बनाउँछ,” उनले भने।
महोत्सवका मुख्य आकर्षणमा लोपोन्मुख जातजातिका सांस्कृतिक प्रस्तुति, झाँकी र मौलिक भेषभूषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, खेलकुद प्रतियोगिता, सडक नाटक र सेल्फी बुथ रहनेछन्।
नयाँ वर्षको पूर्वसन्ध्यामा चर्चित ब्याण्ड तथा कलाकारहरूको विशेष प्रस्तुति हुनेछ भने ल्होसारलगायत सांस्कृतिक पर्वलाई लक्षित कार्यक्रम पनि समेटिएको छ।
अंग्रेजी नयाँ वर्षलाई उत्सवका रूपमा मनाउँदै पोखराले यसपटक पनि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।