
संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संचारमाध्यमहरु पनि मर्जर प्रक्रियामा जानुपर्नेमा जोड दिएका छन्।
मन्त्रालयको आयोजनामा आइतबार पोखरामा भएको ’आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘सञ्चार माध्यम पनि नेपालमा आवश्यकताभन्दा धेरै भएकोले मर्जरको प्रक्रियामा जानुपर्छ।’
एक अर्को प्रसंगमा मन्त्री खरेलले सरकारले लोककल्याणकारी विज्ञापन पनि सही ठाउँमा पुर्याउन नसकेको ओंल्याए।
‘सरकारले दिने लोककल्याणकारी विज्ञापन जानुपर्ने ठाउँमा गएको छैन, क्रियाशील पत्रकारसम्म पुर्याउन मन्त्रालयले पहल गरिरहेको छ’, उनले उल्लेख गरे।
उनले देशकै अर्थतन्त्र नचल्दा मिडियासमेत समस्यामा रहेको उल्लेख गरे।
उनले औंल्याए, ’हरेक वर्ष घाटाको बजेट ल्याउँछौं, पुँजीगत खर्च गर्न सकिँदैन। उद्योग, व्यापार, व्यवसाय गर्न कोही तयार छैन। बैंकमा पैसा थुप्रिएर बसेको छ। देशमा लगानीको वातावरण छैन। उद्योग, व्यापार फस्टाउन सकेको छैन। यस्तो अवस्थाले मिडिया पनि धराशायी हुँदैछन्।’
नेपाल सरकारको प्रवक्तासमेत रहेका मन्त्री खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताए।
उनले उल्लेख गरे, ‘प्रमुख दलहरू निर्वाचनमा जान सहमत भइसकेका छन्, मुलुक अब निर्वाचनतिर अघि बढिसकेको छ।’
चुनावमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढेको उनले स्पष्ट पारे।
’राजनीतिक दल, जेन–जी प्रतिनिधिसँग सघन रूपमा वार्ता गर्यौं। प्रधानमन्त्री निवासमा राजनीतिक दलका नेतृत्वसँग हिजो भएको छलफलमा पनि निर्वाचनमा जाने सहमति भएको छ। अब कुनैपनि राजनीतिक दल चुनावमा जान्न भन्न सक्ने अवस्था छैन’, उनले भने।
जेन–जी आन्दोलनको जगमा हुन लागेको निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई सुशासनयुक्त, भ्रष्टाचारमुक्त बनाउने उनले सुनाए।
निर्वाचनपछि बन्ने सरकार, समृद्ध नेपाल बनाउने दिशामा अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताए।
उनी आफूले सुन्दर भविष्य देखिरहेको स्पष्ट पारे।