
पोखराको लेखनाथस्थित २१ औं संस्करणको लेखनाथ महोत्सव विहिबारदेखि सुरु भएको छ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा–२७ को डाँडाकोनाक (तालचोक) मा महोत्सव सुरु भएको हो।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ यही पुष १४ गतेसम्म महोत्सव संचालन हुनेछ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच महोत्सवको उद्घाटन गरे।
मुख्यमन्त्री पाण्डेले कार्यक्रममा बोल्दै पर्यटनलाई प्रदेश विकासको पहिलो आधारका रूपमा अघि बढाइएको बताए।
यस्ता मेला–महोत्सवले पोखरा र गण्डकी प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउने मुख्यमन्त्री पाण्डेले विश्वास व्यक्त गरे।
उनले भने, ‘लेखनाथ महोत्सव धार्मिक–सांस्कृतिक मात्र नभई पर्यटन, व्यापार, उद्यम र रोजगारीसँग जोडिएको आर्थिक उत्सवको रूपमा स्थापित हुँदै गएको छ।’
गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले देशमा भएका विभिन्न घटनाक्रमले उद्योगी व्यवसायको मनोबल खस्केको हुँदा उनीहरूको मनोबल उकास्नुपर्नेमा जोड दिए।
गण्डकी प्रदेश सरकारका वन तथा वातवरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्नुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई अगाडि बढाउन सकेको खण्डमा देशको अर्थतन्त्र बलियो हुन सक्ने बताए।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष तथा महोत्सव संयोजक जानुका अधिकारी पराजुलीले उद्योग तथा व्यवसायलाई महोत्सवले चलायमान बनाउने बताइन्।
‘जेन–जी आन्दोलनपछि प्रभावित बनेको उद्योग तथा व्यवसायलाई पुन: चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो’, उनको कथन थियो।
महोत्सवलाई क्रेता–विक्रेता र उपभोक्ताबीचको साझा थलो तथा ‘अनौपचारिक विश्वविद्यालय’ को रूपमा विकास गर्ने लक्ष्य रहेको उनको पराजुलीको भनाई छ।
महोत्सवको पहिलो दिन बिहिबार नै करिब ५० हजार दर्शकले महोत्सब अवलोकन गरेको र करिब १ करोड २५ लाख रुपैया बराबरको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए।
गृहलक्ष्मी ग्यास कम्पनीको मुख्य प्रायोजनामा सुरु भएको महोत्सवमा उद्योग, व्यापार, सेवा तथा सूचनामूलक गरी ३३५ स्टल छन्।
औद्योगिक तथा व्यापारिक प्रदर्शनी, कृषि तथा दूग्धजन्य उत्पादन, हस्तकला, फूड फेस्टिभल, अटोमोबाइल प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, पप तथा सुगम संगीत कन्सर्ट, टिकटक तथा आर्ट प्रतियोगिता, टक–शोलगायतका कार्यक्रम महोत्सवमा समावेस छन्।
आयोजकका अनुसार महोत्सवबाट करिब २ लाख ५० हजार दर्शक सहभागिता र करिब ९ करोड रुपैयाँ कारोबार हुने लक्ष्य लिइएको छ।