११ करोड वढिको कारोबार गर्दै सकियो २१ औं संस्करणको लेखनाथ महोत्सव

३ लाख ३५ हजार दर्शकले अवलोकन गरे १२ दिनसम्म चलेको महोत्सव

जनसम्मत
पौष १४, २०८२, सोमबार

११ करोड बढिको कारोबार गर्दै २१ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सकिएको छ।

यो कारोबार महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले अनुमान गरेभन्दा बढी हो।

१२ दिनसम्म चलेको महोत्सव अन्तिम दिन सोमबारसम्म आइपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको आयोजकले दाबी गरेको छ।

त्यसैगरी, ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार–प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिएका छन्।

महोत्सव संचालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।

अन्य वर्षका महोत्सवभन्दा यस वर्षको महोत्सव सोचेभन्दा बढी सफल रहेको वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वाँस्तोलाको दावी छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका पुस ३ गतेदेखि १२ दिनसम्म २१ औं संस्करणको लेखनाथ महोत्सव चलेको थियो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

मेलाले क्रेता र विक्रेतालाई एकै ठाँउमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने आचार्यको धारणा थियो।

प्रमुख आचार्यले जोड दिए, ‘जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षति र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थिक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा हामी चिन्तनशील हुनुपर्छ।’

पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरी महानगरले सहजीकरण गर्दै आएको उल्लेख उनले उल्लेख गरे।

‘साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्पोर्ट्स संचालन गर्ने योजना रहेको भएपनि ३ वर्षदेखि उक्त योजना अगाडी वढ्न सकेको छैन। सो योजना संचालन गर्न ढिला भइसकेको ।। यसलाई अगाडी वढाउन स्थानीयहरुको साथ सहयोग जरुरी छ।’

प्रमुख आचार्यले पोखरा मुग्लीन सडक निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गरे।

यसपछि, पोखरा–लेखनाथको दूरी घट्ने आचार्यले औंल्याए।

उनले लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद गरिएको छैन। बरु, विकासका ठूला योजनाहरुलाई लेखनाथमा केन्द्रीत गरिएकोले अबका दिनमा लेखनाथवासीले आफूहरु मर्कामा परेको अनूभूति गर्न पर्दैन’, उनले उल्लेख गरे।

कार्यक्रमा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

मेलाले क्रेता–विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

‘रुपा–पोखराको एकीकृत विकसका लागि योजना बनाउनुपर्छ’, ओझाको सुझाव थियो।

सोही अवसरमा पोखरा महानगरपालि–२६, वडाध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघसंस्था र उद्योग ब्यवसायी वसेर एकीकृत विकासका योजना वनाउन आग्रह गरे।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान स्थापित गर्न सफल भएको बताइन्।

संयोजक पराजुलीको भनाई थियो, ‘भव्य र सभ्य दर्शकको महोत्सवलाई साथ मिलेको छ। उत्पादक र उपभोक्तालाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको छ। अब, यहाँको प्राकृतिक सम्पदाको संरक्षणमा जुट्नुपर्छ। संपूर्ण लेखनाथभित्रका संघसंस्था, व्यवसायीहरु, विभिन्न जातजातिहरु, आमा/महिला समूहहरू र समग्रमा संपूर्ण लेखनाथवासीहरुको एकताका कारण महोत्सवले सफलता पाएको छ।’

महोत्सवमा ९ करोड बरावरको आर्थिक कारोवार २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य रहेको भएपनि महोत्सवले सोचेभन्दा वढि सफलता हात पारेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी छ।

महोत्सव समापनका दिन किनमेल गर्नकै लागि दर्शकहरु आएको र अन्य दिनको तुलनामा स्टलमा राखिएका सामान केही सस्तो भएपछि किनमेल गर्ने दर्शकको संख्यामा वृद्धि भएको हो।

जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ।

कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारहरुलाई महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले सम्मान गरेको छ।

संघका अध्यक्ष जानुका अधिकारी पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले धन्यवाद ज्ञापन र महासचिव भरतराज ओझाले संचालन गरेका थिए।