२७ औं पोखरा सडक महोत्सवको दोश्रो दिन वेटर/वेट्रेस दौड

पर्यटनको विकास, प्रवर्द्धन र सम्बर्द्धनबारे सरोकारवालाबीच सडकमै बहस

जनसम्मत
पौष १४, २०८२, सोमबार

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर/वेट्रेस दौड प्रतियोगिता गरिएको छ।

अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको सडक महोत्सवमा निरन्तरता पाएको यस प्रतियोगितामा वेटरतर्फ ब्यञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का पहिलो, चिल्ली बारका अमर परियार दोस्रो तथा ब्यञ्जनकै इमोन थापा तेस्रो स्थानमा आए।

त्यसैगरी, वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टका मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टका रिकिता पौडेल द्धितिय तथा बेलिफ रेष्टुरेण्टका अश्मी घर्तीमगर तृतीय स्थानमा आइन्।

उनीहरुले, क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

हल्लनेचोकदेखि खहरेचोकसम्म भएको दौड प्रतियोगितामा वेटरतर्फ २० जना वेट्रेसतर्फ ९ जनाले प्रतिस्पर्धा गरेका थिए।

उनीहरुलाई रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराईलगायतले पुरस्कृत गरे।

लेकसाइडको साँढे ३ किलोमिटर क्षेत्रफलमा जारी महोत्सव अन्तर्गत सोमबार पर्यटनको विकास, प्रवर्द्धन र सम्बर्द्धनबारे सरोकारवालाबीच सडक बहस कार्यक्रम पनि सम्पन्न भएको छ।

अम्मटस्थित सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटालगायतका वक्ताहरु बहस कार्यक्रममा सहभागी थिए।

संचारकर्मी जमुना वर्षाले कार्यक्रम मोडरेट गरेकी थिइन्।

रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम संचालन गरेका थिए।

महोत्सवमा मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगित हुँदैछ।