
विभागीय आर्मीलाई सोझो ३ सेटमा हराउँदै हेल्प नेपालले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई सिधै ३–० सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बन्यो।
हेल्प नेपाल स्पोट्र्स क्लबको एनभीए भलिबलमा यो लगातार जीत हो।
हेल्प नेपालले पहिलो, दोस्रो र तेस्रो सेट समान २५–२१ ले जित्दै खेललाई एकतर्फी आफ्नो पक्षमा बनायो।
हेल्प नेपालको आक्रामक स्पाइक, मजबुत ब्लक र प्रभावकारी समन्वयका सामु त्रिभुवन आर्मी क्लबको केही लागेन।
च्याम्पियनसीपमा हेल्प नेपालका फखर उदिन सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए।
सर्वोत्कृष्ट खेलाडी बनेका फखरले पनि २५ हजार पुरस्कार जिते।
अन्य विधागत पुरस्कारतर्फ हेल्प नेपालकै चिरञ्जीवीले खड्का उत्कृष्ट सर्भरको उपाधि जिते।
त्यस्तै, हेल्प नेपालकै मुवासर राजा उत्कृष्ट स्पाइकर बने।
त्रिभुवन आर्मीका दुर्गाबहादुर खड्काले उत्कृष्ट ब्लकरको टाइटल जिते।
यसैगरी, त्रिभुवन आर्मीकै हरिहजुर थापाले उत्कृष्ट सेटरको उपाधि जिते।
नेपाल पुलिस क्लबका भिमबहादुर गाहले उत्कृष्ट लिबेरोको टाइटल जिते।
यस्तै, हेल्प नेपाल स्पोर्टस क्लबका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक बने।
उनीहरुले जनही १५ हजार पुरस्कार जिते।