कास्कीकोटको सिद्ध बराह आधारभूत विद्यालयले हिरक जयन्ती मनाउँदैं

२०८२ माघ १० गतेदेखि २०८३ माघ १० गतेसम्म एक वर्षसम्म विद्यालयको हिरक जयन्ती मनाउने कार्यक्रम छ

जनसम्मत
पौष २६, २०८२, शनिबार

पोखरा–२४ को कास्कीकोटस्थित सिद्ध बराह आधारभूत विद्यालयले हिरक जयन्ती मनाउँदैंछ।

वि.स. २०२३ मा स्थानीय समुदायको सामूहिक श्रम र लगनशीलता एवं शिक्षाप्रतिको गहिरो प्रतिबद्धताबाट स्थापना भएको विद्यालय ६० वर्ष पुगेपछि विद्यालयले आफ्नो हिरक जयन्ती मनाउन लागेको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा पूर्व विद्यार्थी लोकनाथ सुवेदीले पूर्व विद्यार्थीहरुको सकृयतामा विद्यालयका हिरक जयन्ती मनाउन लागिएको जानकारी दिए।

हिरक जयन्तीमार्फत समावेसी, गुणस्तरीय, प्रविधिमैत्री र समुदाय केन्द्रीत शिक्षा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय नमुना आधारभूत विद्यालय बनाउने लक्ष रहेको सुवेदीले बताए।

वि.सं २०८२ माघ १० गतेदेखि २०८३ माघ १० गतेसम्म एक वर्षसम्म विद्यालयको हिरक जयन्ती मनाउने कार्यक्रम रहेको सुवेदीले उल्लेख गरे।

हिरक जयन्ती कार्यक्रमका लागि ८५ लाख ५० हजार आर्थिक रकम आम्दानी गरिने र सोही रकमबराबरको खर्च हुने अनुमान लगाइएको छ।

स्थानीय तहको सहयोग, विद्यालय परिवार, अभिभावक तथा समुदाय, पूर्व विद्यार्थी, पूर्व शिक्षक र दातृ निकाय तथा संघसंस्थाबाट आर्थिक रकम प्राप्त गर्ने जनाइएको छ।

हिरक जयन्ती कार्यक्रमअन्तर्गत शैक्षिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, भौतिक विकास, स्मारिका प्रकाशन मुख्य समारोह, हिरक जयन्ती स्तम्भ निर्माण र अक्षयकोष स्थापनामा सो रकम खर्च गरिने उनले बताए।

आगामी माघ १० गते शनिबार विहान ८: १५ बजे प्रभातफेरी कार्यक्रमसहित हिरक जयन्तीको समुद्घाटन गर्ने कार्यक्रम छ।

समुद्घाटन कार्यक्रममा अभिभावक, विद्यार्थी, आमा समूह, सांस्कृतिक समूह, पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरु, शैक्षिक एवं सामाजिक व्यक्तित्वहरुको सहभागितामा पञ्चे बाजागाजा, झाँकीसहित विद्यालयको प्राङ्गणमा हिरक जयन्तीको समूद्घाटन गर्ने कार्यक्रम छ।

सोही दिन विद्यार्थीहरुको प्रतिभा प्रदर्शन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुग गरिनेछन्।

हिरक जयन्तीलाई सफल बनाउन प्रारम्भिक, कार्यान्वयन र समापन तथा मुल्यांकन गरी ३ चरणका कार्यक्रमहरु तय गरिएका छन्।

प्ररम्भििक चरणमा मूल समारोह समिति तथा विषयगत उपसमिति गठन, विद्यालयको इतिहास संकलन, प्रकाशन तथा अभिलेखीकरण, स्रोत व्यवस्थापन र बजेट संकलनका कार्यक्रमहरु हुनेछन्।

कार्यान्वयन चरणअन्तर्गत शैक्षिक गोष्ठी, शिक्षक तालिम तथा कार्यशाला, विज्ञान, कला, साहित्य, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, कक्षा कोठा, पुस्तकालय, सौचालयलगायतको भौतिक पूर्वाधार सुधार तथा पूर्व विद्यार्थी र पूर्व शिक्षक पुनर्मिलन कार्यक्रमहरु हुनेछन्।

समापन तथा मुल्यांकन चरणअन्तर्गतका कार्यक्रमहरुमा शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी तथा दाताहरुलाई सम्मान र कार्यक्रमको समीक्षा, आर्थिक प्रतिवेदन सार्वजनिक, भावी कार्ययोजना निर्माण तथा हिरक जयन्ती स्मृति स्तम्भ अनावरणका कार्यक्रमहरु छन्।

कक्षा नर्सरीदेखि ८ सम्म ६२ जना विद्यार्थीहरु अध्ययनरत् छन्।